अशोक पराजुली / मेलम्ची
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र वंश मास्ने भाइमारा को आरोप लगाएका छन् ।
शुक्रवार माओवादी केन्द्र मेलम्ची नगर कमिटीको तेस्रो नगर सम्मेलन, जागरण सभा तथा खवरदारी सभालाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।
उनले भने- राजाबादी भन्नेहरुले धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मूर्खता पहिला पनि भइसकेको छ । अर्को मूर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनको परिवारभित्र थिए नि । सबैले बुझेका छन् नेपाली जनताले पनि बुझेका छन् । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनताले बुझेका छन् ।
अध्यक्ष प्रचण्डले – अहिलेको परिस्थिति खतरनाक भइनै सक्यो भन्ने चाहिँ नरहेको तर दुस्साहस भने भएको टिप्पणी गरेका छन् । प्रचण्डले उक्त दुस्साहसलाई माओवादीले इटको जवाफ पत्थरले दिने चेतावनी समेत दिए । प्रचण्डले देशको ठुला–ठुला मूर्ति चोर र वंश नास गर्ने भाइमारा नेपाली जनताले बिर्सिए भन्ने भ्रममा नपर्न ज्ञानेन्द्र शाहलाई सुझाव दिए ।
उनले भने- यो जुन नौटङ्कीहरु देखाइँदै छ । राजा, महाराजाको बारेमा । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाकधम्की लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?
प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला दरबार हत्याकाण्डको फेरि एकचोटी छानबिन हुनुपर्छ भनेको भन्दै आफूले ५ वर्ष शासन गर्न नपाउँदा त्यो काम अधुरै रहेको बताए । उनले भने – मैले पहिला चोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानबिन गर्नुपर्ने छ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानबिन गरेर भाइ मारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।
पुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले – मेलम्ची क्षेत्रको समस्या बाढीले पुर्याएको क्षेति,गुठी समस्या र मेलम्ची खानेपानी काठमाडौं लगे बापतको रोयल्टी नपाएको बारे पनि पार्टीको ध्यानाकर्षण भएको र यो विषय आगामी संसद बैंककमा उठाउने बताए । उनले – सिन्धुपाल्चोकमा विकास गर्ने भिजन भएको र योजना बनाउने र देशलाई नै हल्लाउन सक्ने क्षमता भएका नेताहरू भएकोले आगामी निर्वाचनमा सिन्धुपाल्चोकका स्थानीय तह र संसदीय निर्वाचनमा माओवादी केन्द्रलाई जिताएर जिल्लामै क्लिन स्विप गर्न जिल्लाबासीमा अनुरोध गरे ।
सभामा माओवादी केन्द्रका उपाध्यक्ष एवं पुर्व सभामुख अग्निप्रसाद सापकोटा,युवा नेता तथा प्रतिनिधिसभाका सांसद माधव सापकोटा सुबोध, पुर्वमन्त्री तथा बागमती प्रदेश सांसद युवराज दुलाल शरद, बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेश सांसद सरल सहयात्री,प्रदेश सांसद अमृता नेपाल प्रभा लगायत नेताले सम्बोधन गरेका थिए ।
विविध साँस्कृतिक प्रस्तुति सहितको सभामा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य रामकृष्ण खतिवडा सहित नेकपा (एमाले),नेपाली काङ्ग्रेस,राप्रपा लगायत पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
तेस्रो नगर सम्मेलनको बन्द सत्रबाट आगामी तीन बर्षका लागि नयाँ नेतृत्व सहितको नगर कमिटी चयन गरिने नगर अध्यक्ष सिपि दुलालले बताए ।
प्रतिक्रिया दिनुहोस्