परीक्षित शक्तिलाई कसैले नपत्याउने भएकाले नयाँ पात्र र नारा अगाडि सारिन्छ। त्यसै कारण दुर्गा प्रसाईं अगुवा पात्र बने। प्रसाईंजस्ता विवादास्पद पात्रको उदय व्यावसायिक लाभका लागि धार्मिक–राजनीतिक आन्दोलन प्रयोग गर्ने प्रवृत्ति हो। ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो ब्यानरमा जगमान गुरुङ, गंगा थारू र पी खरेलका पछाडि कमल थापा, राजेन्द्र लिङ्देन, धवल शमशेर र रवीन्द्र मिश्रहरू प्रसाईंको पछि लाग्दै जानु स्वाभाविकै हुन्थ्यो। आयोजक देखिए पनि मूल प्रायोजक पर्दाभित्रै रहेकाले बहसलाई बहुकोणीय बनायो।
संघारमा पुग्दा सबैले कित्ताकाट गर्नै पर्छ, कोही तटस्थ बस्नै सक्दैन। अझ छेपाराले सक्कली रूप देखाउँनै पर्छ। ज्ञानेन्द्र शाहलाई अझै राजा मान्ने समूह जुलुसमा मात्रै हैन, सामाजिक सञ्जालमा पनि देखिन्छन्। भिडको शक्ति र सामाजिक चेतना नियाल्न अहिले सामाजिक सञ्जाल सन्दर्भ स्रोत बन्दैछ। यो अवस्थाको कारक पक्ष के हो, त्यो ननियाली विषय बुझ्न सकिँदैन।
हरेक विषयको महत्त्वपूर्ण आन्तरिक पक्ष हुन्छ भने सहायकमा बाह्य। क्रियाको प्रतिक्रिया स्वाभाविक हुन्छन् भने कतिपय प्रायोजित। गुमेको स्वर्ग फर्काउन चाहने वर्गले त्यही मनोभाव उराल्छ।
सामाजिक चिन्तन चञ्चल हुन्छ। समाज यथास्थितिमै रहन चाहँदैन, तर परिवर्तन कुन दिशातर्फ हुन्छ भन्ने मुख्य हो। परिवर्तनलाई सहजै स्विकार्न सकेका हुँदैनन् पुराना राजनीतिक शक्तिले। ती षडयन्त्रको मौका ढुकिरहेका हुन्छन्। परिवर्तनका वाहक नै आदर्शमा टिक्न नसकेपछि त्यसले प्रतिगामीलाई माहौल अनुकूल बनाइदिन्छ।
चौरासी व्यञ्जनमा एक साँझ
प्रायः साँझ नयाँ बानेश्वरको चौरासी व्यञ्जन होटलमा पुग्थेँ। त्यहाँ एक जना नियमित पाहुना देखिन्थे।
सेतो चिटिक्कको लुगा, अत्तरको सुवास, ब्रान्डेड सुट, आरामदायी गाडी, दुई–तीन वटा महँगा फोन, गलामा सुनको मोटो चेन र हातमा सुनकै बाला। हेर्दै सम्भ्रान्त, नवधनाढ्य वा शक्ति निकट कुनै व्यापारीजस्तो देखिन्थे। उनको तुजुकयुक्त हाउभाउ र आत्मविश्वासले भरिएको चालडाल र होटलमा आउने उनको निरन्तर उपस्थिति जिज्ञासाको विषय बन्दै गयो।
अक्सर आफ्नो कुनामा बसेर कम्प्युटरमा अक्षरसँग खेलिरहेको हुन्थेँ, उनीचाहिँ अर्कोतिर फ्रेस जुसमा समय बिताइरहेका हुन्थे। उनीलाई म चिन्दिनथेँ। एक साँझ उनी सिधै मेरो टेबलमा आए।
मलाई चिन्दा रहेछन्! मेरो प्रोफाइल सर्लक्क सुनाए।
त्यसपछि उनले गम्भीर हुँदै अचानक प्रस्ताव राखे।
“के म कमरेड प्रचण्डलाई भनेर तपाईंलाई कुनै नियुक्ति दिलाइ दिऊँ?”
म आश्चर्यमा परेँ।
चौथो महाधिवेशनकालदेखिका प्रचण्ड (त्यति बेलाका ‘विश्वास’) र ‘बादल’ चितवन भन्डारादेखि नै मेरा परिचित थिए।
तर त्यो रवाफिलो व्यक्तिलाई मैले कुनै नियुक्तिको कुरा गरेको थिइनँ। न कसैसँग गरेको नै छु। न म कुनै पद खोज्दै थिएँ, न उनले मेरो कुनै अनुरोध सुनेका थिएँ। तर किन र कसरी यस्तो प्रस्ताव? म अनिश्चित र आश्चर्यचकित भएँ।
त्यसपछि पुराना पत्रकार हेमबहादुर विष्टलाई सोधेँ, “यी को हुन्?”
विष्टले जवाफ दिए, “उनी झापाको मेडिकल कलेजका मालिक, दुर्गा प्रसाईं।”
तीन हप्ताभित्रै, दुर्गा प्रसाईंको एउटा तस्वीर मिडियामा भाइरल भयो। त्यो तस्वीर नेकपा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीसँगको राजनीतिक ‘मार्सी भोज’को थियो। त्यसको केही समयपछि सत्तासमीकरण फेरियो। सरकार गठनको गणित उल्टियो। दुर्गा प्रसाईं राजनीतिक ‘डिल मेकर’को भूमिकामा देखिन थाले।
दुर्गा प्रसाईं माओवादीका सामान्य सदस्य थिए। तर क्याम्प परिवर्तन गरी सिधै नेकपा एमालेको केन्द्रीय सदस्य बने। हुँदाहुँदा राजावादीको आन्दोलनको प्रमुख अभियन्ता भए। ज्ञानेन्द्र शाहलाई पुनः गद्दीमा आसीन गराउने योजनाका देखिने पोस्टर र सूत्रधार बने।
कसरी प्रसाईं प्रवृत्ति शक्तिनजिक पुग्छ? उपयोग गर्छ र कालान्तरमा त्यसैको दुस्मन बन्न पुग्छ? व्यापारी कसरी राजनीतिक खेलाडीसँग सम्बन्ध गाँस्छन्? मौकामा चौका हानेर समय र सम्भावनामा खेल्दै धेरै माथि चढ्छन्?
०००
विश्व र हामी
बीजेपीको ग्वालियर राजघरानासँग नाता जोडिएका राप्रपा महामन्त्री धवलशमशेर राणाले ससुराली पुगेर राजनीतिक भेटघाट गर्दै, कुम्भ हुँदै गृहनगर नेपालगन्ज फर्किएपछि खास मान्छेसँग १५ दिनमा नेपालमा राजनीतिक उथलपुथल हुन्छ भन्दै हिँडे। अस्वस्थ राणा–राप्रपाको आन्दोलन परिचालन समतिको अध्यक्ष पनि बने। कतिपय ठाउँमा मोटरसाइकल र्याली गराए। अर्को आन्दोलन चैत १ देखि हुने बताए।
विश्वमा हामी छौँ, विश्व हामीमा पनि छ। हाल विश्वको राजनीतिक व्याकरण परिवर्तनशील अवस्थामा छ। राजनीति क्रमशः दक्षिणपन्थी ध्रुवीकरणतर्फ ढल्कँदै छ र कर्पोरेट शासन व्यवस्थाले फासीवादको स्वरूप लिँदैछ।
अमेरिकाले मोदी सरकारलाई कूटनीतिक अपमान व्यहोर्न बाध्य पारिरहेकै बेला, भारतले आन्तरिक असन्तोषलाई ढाकछोप गर्न नयाँ न्यारेटिभ निर्माण गर्दैछ। बांग्लादेशको पछिल्लो विद्रोहलाई ठोस रूपमा समेट्न नसकेपछि, छिमेकी मुलुकमाथि प्रभाव जमाउने रणनीति भारतले लिएको देखिन्छ। शक्तिशालीसँग हेपिएकाहरू कमजोरलाई दबाबमा राखेर मनसुख हुन चाहन्छन्।
अखण्ड भारतको नारा दिने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को नेपाल शाखा अब धार्मिक उत्तेजना फैलाउने अभियानमा बदलिएको छ। हिन्दू राष्ट्र पुनर्स्थापना र राजसंस्थाको पक्षमा जनलहर उठाउने रणनीति तीव्र बनाइएको छ। राजनीतिमा धर्म घोलेर धार्मिक कट्टरता बनाउने काम भइरहेका छन्।
नेपालको भूराजनीतिक संवेदनशीलता भूसंवेदनशीलता केवल भौगोलिक विषय होइन, राजनीतिक र सामाजिक अस्थिरता पनि हो। यूएसएडजस्ता अन्तर्राष्ट्रिय परियोजना सिर्फ आर्थिक वा पूर्वाधारसँग मात्र जोडिएका थिएनन्, तिनले भाष्य निर्माण गर्ने शक्तिकेन्द्रलाई प्रभाव पार्ने लक्ष्य राखेका थिए। एनजीओकेन्द्रित समाज अब मर्माहत बनेको छ।
परिवर्तनका लागि लडेका शक्तिले आफ्नो आदर्श जोगाउन नसक्दा नै प्रतिगामी सलबलाउन थालेका हुन्। दुस्मन उही रणनीति बारम्बार प्रयोग गर्दैनन्। एक पटक सफल भएको रणनीति अर्को पटक दोहोर्याउँदा असफल हुन सक्छ। त्यसैले, प्रतिगामी नयाँ रणनीति र मानसिक भ्रम सिर्जना गर्दै जनतालाई दिशाहीन बनाउन केन्द्रित छन्। अहिले सडकमा पोखिएको भीड राजतन्त्रप्रतिको आकर्षण होइन। यो १८ वर्षदेखि चलिआएको ओली, देउवा र दाहालको राज्यलूट सिन्डिकेटप्रतिको विकर्षण हो।
हल्ला र षड्यन्त्रका खेल
सात सालतिर घोरमुखा (घोडाको टाउको भएको राक्षस)को डरले महिनौँसम्म केटाकेटीलाई घरबाहिर जान दिइन्थेन। अझै पनि कतिमाथि त्यो हल्लाको प्रभाव बाँकी छ। त्यस बेला घोरमुखाको त्रासले चार भन्ज्याङ आसपास राणाविरोधीमा डर र अस्थिरता फैलाउने प्रयत्न गरिन्थ्यो।
नेपाली राजनीतिमा हल्ला, न्यारेटिभ निर्माण र जनताको भावनात्मक शोषण बारम्बार दोहोरिएका छन्। अहिलेको डिजिटल युगले यो प्रवृत्तिलाई झन् सरल, तीव्र र प्रभावकारी बनाइदिएको छ। डिजिटल प्रविधिमार्फत अहिले घोरमुखाहरू जनतालाई सताइरहेका छन्। घोरमुखा केबल षड्यन्त्र सिद्धान्त हो। अफवाह र षड्यन्त्र सिद्धान्त हो।
षड्यन्त्र सिद्धान्त कार्यान्वयन गर्न निश्चित चरण अपनाइन्छन्:
पहिलो चरणमा हल्ला फैलाएर ‘धुवाँको पर्दा’ खडा गरिन्छ र जनताको नाडी छामिन्छ। दोस्रो चरणमा इतिहासको चक्र उल्टाउन चाहने शक्ति धार्मिक तथा सांस्कृतिक ‘मास हिस्टेरिया’ सिर्जना गर्छन्। तेस्रो चरणमा, सिन्डिकेटले उग्रधार्मिक समूहलाई प्रयोग गर्दै अन्धविश्वास फैलाउँछ, सत्ताच्युत अभिजात वर्गले नयाँ न्यारेटिभ निर्माण गर्छ। वित्तीय शक्तिकेन्द्र (थैली शाहहरू) संलग्न हुन्छन् र साइबर सेना भ्रम तथा निराशा छर्ने काममा जुट्छ।
यसरी, हल्ला र षड्यन्त्र केवल कल्पना नभई रणनीतिक रूपमा प्रयोग गरिने प्रभावशाली अस्त्र बन्न पुग्छ।
क्रान्ति र यसको नियति
क्रान्ति अत्यन्तै निर्मम हुन्छ। यसले आफ्नै नायकलाई महत्त्वाकांक्षाका ग्रन्थि जगाएर खलनायकमा परिणत गरिदिन्छ। तर इतिहासको यात्रा सधैँ पुनरागमन होइन, अग्रगमनतर्फ नै उन्मुख हुन्छ। पश्चगामी शक्ति अंशमा टिकेर समग्रमा आक्रमण गर्छन्। अस्थिर मध्यमवर्ग भ्रमित हुँदै भिडमा रूपान्तरण हुनसक्छ। परिवर्तनका संवाहक जब नैतिक मूल्य गुमाएर भ्रष्ट बन्छन्, तब तिनी स्वयं आलोचनाका शीर्षक बन्छन्।
क्रान्तिका नायकले जब आफ्नो क्रान्तिकारी चरित्र र दायित्व बिर्सन्छन्, प्रतिक्रान्तिकारी शक्ति त्यही कमजोरीलाई आधार बनाएर सत्तामा पुनः कब्जा गर्न चाहन्छन्। यसको अर्थ, क्रान्ति सफल भइसकेपछि पनि नेतृत्व वर्ग भ्रष्टाचार, स्वार्थ, परिवारवाद र विलासितामा फस्छ भने प्रतिक्रान्तिकारी तत्त्वले जनताको असन्तुष्टिलाई हतियार बनाएर सत्तामा फर्कने प्रयास गर्छन्।
२००७ सालको क्रान्तिपछि बीपी कोइराला अपराधी करार गरिए। २०३६ सालको जनमतसंग्रहपछि प्रजातन्त्रवादी विभाजित भए। २०६२/६३ पछि जनयुद्धका नायक आफ्नै आदर्श जोगाउन असमर्थ रहे। प्रतिकूलताका आदर्श चकनाचुर भए, परिणामस्वरूप: नयाँ शक्ति होइन, पुरानै संरचनाभित्र यदुवंशीहरू जन्मिए। जब त्यागीकै त्याग हराउँछ, आलोचना अनिवार्य बन्छ।
परिवर्तनको राप रहुन्जेल प्रतिक्रान्तिकारी शक्ति विभिन्न दल र विचारधारामा आवरणमा रहन्छन्। जब परिवर्तनको आवेग सेलाउँदै जान्छ, भेष फेरेका साधु पुनः गृहस्थ फर्कन्छन्। आइतबार पनि त्यस्तै दृश्य काठमाडौँमा देखियो—रैती बन्न पाऊँ भन्नेहरू सडकमा उत्रिए। निराश, आक्रोशित जनमत, धार्मिक भावना र सत्ताच्युत अभिजात वर्ग मिलेर एउटा सिन्डिकेट बन्यो।
फ्रान्सेली क्रान्ति (१७८९) ले ‘स्वतन्त्रता, समानता र बन्धुत्व’को आदर्श बोकेको थियो। तर, जब रोब्सपिएरले क्रान्तिको मर्मभन्दा आतंकलाई शासनशैली बनाए, तब जनतामा निराशा फैलियो। त्यही कमजोरीको फाइदा उठाउँदै नेपोलियन बोनापार्टले सत्ता कब्जा गरेर आफूलाई सम्राट् घोषित गरे।
राजनीतिमा अभिजात वर्ग सधैँ आफ्नो ‘गुमेको स्वर्ग’ फिर्ता ल्याउन खोज्छ। तर इतिहासको गति पछाडि होइन, अगाडि मात्र जान्छ। पश्चगामी तत्त्व अंशमा टिकेर समग्र परिवर्तनलाई आक्रमण गर्छन्। यस्ता अस्थिर घडीमा मध्यमवर्ग अत्यधिक प्रभावित हुन्छ। भ्रमित भएर उनीहरू भिडमा परिणत हुन सक्छन्। नायकले इतिहासको रक्षा गर्न नसके पनि इतिहास सधैँ अग्रगामी नै हुन्छ।
ख्याल के गर्नुपर्छ भने परिवर्तनप्रति एकाएक भ्रम सिर्जना हुँदैन। भ्रम उत्पन्न गर्न पनि आधार चाहिन्छ। जब नवशासकमा भ्रष्टाचार, आपसी कलह र अस्थिरता बढ्छ, छिमेकी शक्तिराष्ट्रहरूको भूमिका महत्त्वपूर्ण बन्छ। ती राष्ट्रले आफ्ना स्वार्थअनुसार प्रतिक्रान्तिकारी शक्तिलाई समर्थन गर्न सक्छन्, अथवा देशको अस्थिरता नियन्त्रणमा सहयोग पनि गर्न सक्छन्।
क्रान्ति स्वभावैले कठोर हुन्छ। यसले आफ्नै नायक बदल्न सक्छ। तर, यदि परिवर्तनका संवाहकले नैतिक बल गुमाए भने प्रतिक्रान्तिकारी शक्ति पुनः सत्तामा फर्कने अवसर खोज्छन्। इतिहासको गति भने कहिल्यै पछाडि फर्कँदैन—सधैँ अगाडि नै बढ्छ।
हरेक समाजमा उसका प्रतिनिधि पात्र हुन्छन्। तिनका भूमिका व्यक्तिगत देखिए पनि एउटा चिन्तन समूहको हुन्छ। अहिले ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईं तिनका अगुवा पात्र बनेर राप्रपा र पश्चगमनका पोस्टर म्यान बने। तर यो विश्व दक्षिणपन्थको नेपाली संस्करण मात्र हो। अब राजनीतिक दलसामु ध्वस्त हुने कि सुध्रिने भन्ने परीक्षा खडा भयो।
कार्यपालिका, न्यायपालिका र संसद्को स्वतन्त्र भूमिका हुन दिने कि नदिने? जबकि यी लोकतन्त्रका तीन आधारभूत तत्त्व हुन्। पार्टीभित्रको आन्तरिक लोकतन्त्र मजबुत गराएर नेतृत्वको पुस्तान्तरण गर्ने कि नगर्ने? यो भ्रष्टतन्त्र (क्लेप्टोक्रेसी)बाट उम्कने कि नउम्कने?
शासनशक्ति बालुवाटार केन्द्रीकरण हुँदा निक्लने परिणाम के कसो हुन्छ? सबै कुरा सधैँ आदेशमा चल्दो रहेनछ भन्ने ज्ञान ज्ञानेन्द्र शाहले हामी सबैलाई दिएकै छन्। तर यतिका वर्षपछि तिनै शाह किन हौसे र कसले उनलाई उकास्यो? यो अवस्था किन आयो भनेर माओवादी, एमाले र कांग्रेसको नेतृत्वले सामूहिक समीक्षा गर्नै पर्छ! सुध्रिने या ध्वस्त हुने? ज्ञानेन्द्रको ताउरमाउर चेतावनीको घण्टी हो।
समयमै चेत भया।
प्रतिक्रिया दिनुहोस्