२०८१ चैत्र ३०
                           

विश्व मुख स्वास्थ्य दिवस

मार्च २० हरेक बर्ष यस दिन विश्व मुख स्वास्थ्य दिवस मनाउदै आएका छौ। मुख स्वास्थ्य केवल दाँत र गिजाको मात्र हेरचाह गर्नुपर्छ भन्ने कुरा होइन, यसले हाम्रो समग्र स्वास्थ्य र सामाजिक जीवनमा पनि ठूलो प्रभाव पार्दछ। हरेक व्यक्तिको स्वास्थ्य र व्यक्तित्वमा मुखको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।

स्वास्थ्य भनेको मात्र रोग र दुर्बलताबाट मुक्त हुनु होइन, यसको अर्थ शारीरिक, मानसिक र सामाजिक दृष्टिले पनि स्वस्थ हुनु हो। शरीरका सबै अंगहरूलाई स्वस्थ राख्नका लागि पौष्टिक खाना मुखबाटै खाने गरिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, संसारभरि ६ अर्ब ७५ करोड मानिस दाँतका समस्याबाट पीडित छन्। नेपालको दन्त स्वास्थ्य स्थिति हेर्ने हो भने २०२० मा गरिएको एक अध्ययनअनुसार, ६०% भन्दा बढी नेपालीहरू दाँतको समस्या भएका छन्। ४५% ले दाँत सफाइको उचित तरिका अपनाउँदैनन् र ८५% व्यक्तिले नियमित दन्त जाँच गर्दैनन्।

मुखको स्वास्थ्यलाई प्रायः व्यक्तित्वसँग जोडेर हेरिन्छ। मधुमेह, हृदयरोग, कार्डियोभास्कुलर रोग र श्वासप्रश्वासका रोगहरू पनि मुखको स्वास्थ्यसँग सम्बन्धित छन्। नियमित दन्त परीक्षण, दाँतको उचित हेरचाह र स्वस्थ खानेकुराहरू मुखको स्वास्थ्यको लागि महत्त्वपूर्ण हुन्छ। अहिले बढ्दो फास्टफुड र चिसो-तातो खानेकुराको चलनले बालबालिका विशेष गरी मुखको स्वास्थ्यको जोखिममा छन्।

अधिकांश नेपालीलाई बिहान र बेलुका खाना खाइसकेपछि दाँत माझ्नु आवश्यक छ भन्ने कुरा थाहा छैन र दाँत माझ्ने सही तरिका पनि थाहा छैन। नियमित रूपमा ब्रस गर्ने, कम्तिमा ६ महिनामा एक पटक दन्त चिकित्सकसँग परामर्श लिनु महत्त्वपूर्ण छ। कहिलेकाहीं मुखमा घाउ, पोल्ने समस्या आउँदा प्रि-क्यान्सरको लक्षण हुनसक्छ। यदि समयमै उपचार नगरीयो भने मुखको क्यान्सरको सम्भावना बढ्छ।

दाँत र मुखमा देखिने समस्या:

– दाँतमा किरा लाग्नु।
– दाँत खिइनु।
– दाँत हल्लिनु।
– दाँत सिरिङ हुनु।
– गिजा सुन्निनु।
– गिजाबाट रगत बग्नु।
– मुखभित्र घाउ र खटिरा आउनु।

मुख र दाँतलाई स्वस्थ राख्ने तरिका:

– बिहान र बेलुका खाना खाइसकेपछि तीन मिनेटसम्म ब्रस गर्नु।
– नरम ब्रसको प्रयोग गर्नु।
– फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्नु।
– साना बालबालिकालाई सानो केराउको दाना जति मात्रामा मञ्जन दिनु।
– ठुला व्यक्तिहरूलाई सामान्य आकारको मञ्जनको मात्रामा प्रयोग गर्नु।
– दाँत सफा गर्दा अगाडि र पछाडिका दाँत, तल र माथिका दाँत, जिब्रो र जिब्राभन्दा माथिको भागलाई पनि सफा गर्नु।
– सुर्तीजन्य पदार्थको सेवन नगर्नु।
– अत्यधिक चिसो र तातो पदार्थ सेवन नगर्नु।
– चकलेट वा गुलियो खानेकुरा खाएपछि मुख कुल्ला गर्नु।
– दाँतमा खानेकुरा अड्केको खण्डमा सफा पानीले मुख कुल्ला गर्नु।
– ढुङ्गा, तार वा कुनै कडा वस्तु दाँतले टोक्न नदिनु।

सस्तो तरिका र उचित हेरचाहले बालबालिकादेखि लिएर वृद्धवृद्धासम्मको मुख र दाँतको समस्या समाधान गर्न सकिन्छ। सही तरिकाले ब्रस गर्दा धेरै घोटेर ब्रस गर्नु हानिकारक हुन सक्छ, त्यसैले उपयुक्त तरिकाले तलमाथि ब्रस गर्नु आवश्यक छ। मुखको स्वच्छताले केवल दाँतको समस्या समाधान गर्दैन, यसले मुहारको चमक र बोलीको शैलीलाई पनि सुधार गर्छ।

तर, हामी मुखको स्वास्थ्यको महत्त्वलाई प्रायः गम्भीरतापूर्वक लिदैनौं। मुख स्वास्थ्यमा देखिने समस्याहरू प्रायः रोकथाम योग्य छन्, र यसका लागि जनचेतना बढाउन समुदाय र विद्यालयमा मुख स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक देखिन्छ। मधुमेह, उच्च रक्तचाप, मुटुरोग र मानसिक तनाव जस्ता समस्याहरूको नियन्त्रणका लागि जीवनशैलीमा सुधार आवश्यक छ। त्यस्तै प्रशस्त पानी पिउने, भिटामिन सी र डीयुक्त खाना खाने, धूमपान र मद्यपान नगर्ने, जङ्कफुड र चिनीजन्य पदार्थबाट बच्ने, र स्वस्थ खानपान अपनाउनेले हामीलाई ९० प्रतिशत मुखका रोगबाट बचाउन सक्छ। साथै बिहान खाना खाईसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब २० प्रतिशत मुखका रोगहरुबाट बच्न सकिन्छ।

लेखक : सबिना सापकोटा

पद : हेल्थ असिस्टेन्ट, सानो सिरुवारी स्वास्थ्य चौकी

प्रतिक्रिया दिनुहोस्