केवल कक्षपती – नेपालको राजनीतिक इतिहास केलाउँदा प्रस्ट हुन्छ कि यहाँको शासन व्यवस्था पटक-पटक बदलिएको छ। मुलुक राणाशासनको विरुद्धमा प्रजातन्त्रका लागि लड्यो, पञ्चायती व्यवस्थालाई विस्थापित गर्दै बहुदलीय प्रजातन्त्र स्थापना गर्यो, र निरंकुश राजतन्त्रलाई अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्यो।
यी हरेक परिवर्तन सहज रूपमा आएका थिएनन्; जनताले संघर्ष गरे, बलिदान दिए, अनि मात्र परिवर्तन सम्भव भयो। तर, परिवर्तन मात्र पर्याप्त हुँदैन— त्यसलाई संस्थागत गर्नु अझ महत्त्वपूर्ण हुन्छ।
आज हामी एउटा गम्भीर प्रश्नको सामना गरिरहेका छौं— के नेपालले सही मार्गमा यात्रा गरिरहेको छ? के हामीले प्राप्त गरेको गणतन्त्रले जनताको जीवनस्तर सुधार्न सकेको छ? के हामीले चाहेको समृद्ध नेपाल निर्माण भइरहेको छ?
यी प्रश्नहरूको उत्तर खोज्दा गणतन्त्रप्रति निराशा व्यक्त गर्नेहरूको संख्या बढिरहेको देखिन्छ। कतिपय त राजतन्त्र फर्काउनु नै समाधान हो भन्ने सोच्न थालेका छन्। तर, यथार्थ के हो?
गणतन्त्रलाई असफल सावित गरेर पुन: राजतन्त्रको वकालत गर्नु समाधान होइन।
मुलुकलाई स्थायित्व दिनु, जनताको आकांक्षालाई सम्बोधन गर्नु, र आर्थिक समृद्धिको मार्ग पहिल्याउनु नै सही दिशा हो। अहिले केही राजावादीहरु जनता राजा चाहान्छन भन्ने तर्क राख्दै चरणवद्ध आन्दोलनमा छन् । तर वास्तवमा जनताले राजतन्त्र खोजेका होइनन्। बरु केही पूर्वराजाका भरौटेहरूले राजालाई उचालेर आफ्ना निहित स्वार्थ पूरा गर्न खोजिरहेका छन्। केही जनताहरू भने गणतान्त्रिक दलहरूको असक्षमता र भ्रष्ट आचरणले वाक्क-दिक्क भएका छन्।
गणतन्त्रपछिको नेपालमा जनताले देश विकास तीव्र गतिमा हुने, रोजगारी सिर्जना हुने, देश आत्मनिर्भर बन्दै आर्थिक उन्नतितर्फ अघि बढ्ने अपेक्षा राखेका थिए। तर, यी अपेक्षाहरू पूरा हुन सकेनन्।
यसको प्रमुख कारण व्यवस्थामा रहेको कमजोरी, नेताहरूको पार्टी-केन्द्रित स्वार्थ, र एकअर्कामाथि दोषारोपण गर्ने राजनीतिक संस्कृति हो।
नेपालको वर्तमान राजनीतिमा सबै दलहरू विरोधको राजनीतिमा संलग्न देखिन्छन्। जब कुनै दल सत्तामा जान्छ, तब उनीहरू समृद्धि र विकासका आश्वासन दिन्छन्। तर, जब सरकारबाहिर रहन्छन्, विपक्षी दलहरूको मात्र विरोध गर्छन्। यहाँ सत्ता र विपक्षको सहकार्यको कुनै संस्कृति छैन।
संसदमा सुझाव, सल्लाह, समर्थन वा प्रशंसा भन्दा पनि आरोप-प्रत्यारोपकै हाबी रहेको देखिन्छ। हाम्रा दलहरू आफू मात्र असल, सक्षम र नैतिकवान रहेको भ्रममा छन् भने, अरू सबै अयोग्य र भ्रष्ट रहेको धारणा पालेका छन्।
कुनै दल सत्ता बाहिर हुँदा देश डुब्दैछ भनेर जनतालाई भावनात्मक रूपमा ब्ल्याकमेल गर्ने प्रवृत्ति मौलाएको छ। यसैको फाइदा उठाउँदै राजावादीहरू धमिलो पानीमा माछा मार्ने रणनीतिमा लागेका छन्।
राजावादीहरूको तर्क र विचार
राजाको पक्षमा नारा लगाउनेहरूसँग न कुनै स्पष्ट विचार छ, न कुनै ठोस तर्क। उनीहरू हालका समस्याहरूको समाधान राजा नै हो भन्ने नारा मात्र लगाउँछन्। रोचक कुरा के छ भने, आज राजतन्त्रको वकालत गर्ने दुर्गा, शाही, रविन्द्र जस्ता नेताहरू कुनै समय राजतन्त्रकै कट्टर विरोधी थिए। उनीहरूले इतिहासको अध्ययन नगरेका हुन् वा गरे पनि स्वार्थअनुसार गलत विश्लेषण गरेका हुन्।
राजतन्त्र समर्थक युवाहरूसँग केही प्रश्न:
-के देश राजाले बनाएका हुन् कि नेपाली जनताले?
-२०४ वर्षसम्म काण्डै-काण्डमा फसेको राजतन्त्रले अहिले आएर देशको कायापलट गर्न सक्छ?
-के राजावादीहरूसँग सबै जनतालाई समेट्ने ठोस सामाजिक, आर्थिक र राजनीतिक नीति छ?
-मुख्य प्रश्न राजा फर्कन्छ कि फर्किदैन भन्ने होइन, राजा फर्केर के हुन्छ? भन्ने हो ।
यदि कुनै व्यवस्थाले समस्या उत्पन्न गर्छ भने त्यसको विकल्प पछाडि फर्किने होइन, अझ उन्नत व्यवस्थामा रूपान्तरण हुनु हो। द्वन्द्वात्मक भौतिकवादका अनुसार समाज निरन्तर परिवर्तनशील हुन्छ, र यो परिवर्तन गुणात्मक हुनुपर्छ।
अहिलेको अवस्था ‘थेसिस’ हो भने, यसमा देखिएका चुनौतीहरू ‘एन्टिथेसिस’ हुन्। समाजले यी दुवैको द्वन्द्वबाट ‘सिन्थेसिस’ अर्थात् नयाँ उन्नत रूप प्राप्त गर्छ। नेपालका लागि यो उन्नत रूप बलियो लोकतन्त्र नै हो।
सर्वप्रथम, सबै दलहरूले हालको व्यवस्थाका कमजोरीहरू आत्मसात् गरेर उपयुक्त सुधार गर्नुपर्छ।
गणतन्त्रलाई सफल बनाउन के गर्न सकिन्छ :
-प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था अपनाउने।
-स्थिर सरकारको सुनिश्चितता गर्न संवैधानिक सुधार गर्ने।
-कुनै एक दललाई स्पष्ट बहुमत नदिने परिस्थिति भएकाले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने।
-भ्रष्टाचार उन्मूलनका लागि प्रभावकारी नीति लागू गर्ने
-आर्थिक प्रणालीलाई पारदर्शी र समावेशी बनाउने नीति ल्याउने।
-तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गरी सबै मन्त्रालयहरूमा -सर्वसम्मत नीति अवलम्बन गरी प्रभावकारी कार्यान्वयन गर्ने।
गणतन्त्र डेलिभरीमुखी हुनुपर्छ, अन्यथा यसप्रति जनताको विश्वास खस्कँदै जानेछ। प्रभावकारी शासन प्रणाली नै नेपालको विकासको प्रमुख विकल्प हो।
समस्याको समाधान राजतन्त्र होइन, बरु गणतन्त्रलाई अझ परिष्कृत बनाउनु हो। यो काम जिम्मेवार राजनीतिक दलहरूले आत्मसात् गरेर अघि बढ्नुपर्छ।
प्रतिक्रिया दिनुहोस्