यही अगस्त ६, २०२३ मा भारतीय जनकवि गदरको ७४ वर्षको उमेरमा तेलंगाना हैदरावाद अपोलो स्पेक्ट्रा अस्पताल श्यामकरण रोड, आमीरपेटमा निधन भयो । हृदय रोगबाट ग्रसित २० जुलाई २०२३ मा अस्पताल भर्ना भएका गदरको ३ अगस्त २०२३ मा मुटुको वाइपास सर्जरी गरियो, सुधार हुँदै थियो तर फोक्सो र मूत्राशय समस्याले रोग बल्झिएर उनको ६ अगस्तमा मृत्यु भयो । गदरको जन्म तूपरान तेलंगानाको मेदक जिल्लामा १९४९ मा एउटा दलित परिवारमा भएको थियो । उनको औपचारिक नाम गुम्मदी विट्ठल राव हो तर ऊनी गदरको नामले चर्चित छन् ।
भारतमा बेलायती उपनिवेशवादको विरुद्ध स्वतन्त्रताका लागि जुलाई १५, १९१३ मा स्थापना भएको गदर पार्टीको नामबाट उनले आफ्नो नाम गदर राखेका थिए । ओस्मानिया विश्वविद्यालयमा इन्जिनीयरिङ पढेका गदरले १९७० को दसकमा सातवर्ष केनरा बैंकमा क्लर्कको जागिर गरेका थिए । उनकी श्रीमती विमला, छोरा सूर्यडू, छोरी वेन्नेला र स्थायी बसोबास तेलंगाना हैदरावाद भारतमा रहेको थियो ।
विश्वविद्यालय पढ्दादेखि उनको झुकाव कम्युनिस्ट विचारप्रति रहेको देखिन्छ । भारतमा आपातकालपछि गदर कम्युनिस्ट क्रान्तिकारी पार्टीमा लागे । गदर १९८० को दसकमा भूमिगत भए । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी-लेनिनवादी) पिपुल्स वार ग्रुपको सांस्कृतिक मोर्चा जन नाट्य मण्डलीको नेतृत्व सम्हाले । पछि अर्को सांस्कृतिक मोर्चा विरसम पनि गदरले निर्माण गरेका थिए । १९९७ मा गदर गिरफतार भए र केही समयपछि ऊनी जेलबाट रिहा त भए तर चन्द्रबाबु नायडुको सरकार तेलगु देशम पार्टी आन्ध्र प्रदेश सरकारमा हुँदा उनलाई ग्रीन टाइगर समूहले हत्या गर्न ६ अप्रेल १९९७ मा ६ गोली हानेको थियो । अप्रेसनपछि पाँच गोली त निस्कियो एउटा मेरुदण्डमा पछिसम्म जीवनभरि रही रहयो ।
गदर गीतकार, संगीतकार र गायक थिए । ऊनी जनताका कवि थिए । गदरको गीत नै हतियार थियो । गदरले सहिदहरूको गीत गाए । गदरले गीत गाएर जनउभार ल्याउँथे । गदर वंचितहरूका आवाज थिए । गदरले गीतको माध्यमबाट सामाजिक न्यायका लागि लडाइ लडेका थिए । रुसमा गोर्की, चीनमा लु सुन जस्तै भारतमा गदरलाई गनिन्छ ।
गदरले माया र सम्मान सामान्यतया भारतमा र विशेषगरी तेलंगानामा पाएको देखिन्छ । ऊनी तेलगु भाषामा गीत गाउने गर्थे ।
रेला रे, रेला रे, रेला रे … गदर र वरवर रावले १९८२ दिल्लीको सडकमा गाउँदै हिँडेको त्यो ऐतिहासिक गीत अझै पनि मैले बिर्सेको छैन । श्री-श्री, वरवर राव र गदर भारतीय जनताका चहेता कवि र गायक हुन् ।
गदरको पोशाक पहिचान विशेष प्रकारको थियो । गदरको पोशाक ट्रेडमार्क धोती, रातो सल र काठको लौरो थियो । गदरको राजनीतिमा निराशा र विचलनले ऊनले २०१७ मा यो पोशाक परित्याग गरेर सर्टप्यान्ट र टाइ समेत लाउन थालेका थिए । क्लीन सेव गर्ने र दाहिने हातमा घडी पनि लाउने गर्थे जुन पहिला उनले वर्जित गरेका थिए ।
तर २०२२ मा उनी फेरि आफ्नो पारम्पारिक पोशाकमा फर्के । गदरले आफ्नी आमाको संझनामा लेखेको एउटा तेलगुबाट अंग्रेजी अनुवाद कवितालाई मैले नेपाली अनुवाद राख्नु उचित नै ठाने ।
आमा लछुमम्मा तिम्रो ब्लाउज च्यातिएको छ
तिम्रो कपाल लट्टा परेको छ, तिम्रो सारी धुजाधुजा देखिन्छ
तिमीसँग नयाँ किन्ने पैसा छैन
यस्तो बेला पनि तिमीले
हिले करेसा बारीमा बिरुवा लाएकी छौ
ती उम्रने र उत्पादन हुने आशमा
तेलंगाना पृथक राज्य आन्दोलनको गदर अगुवा नै थिए । ऊनी तेलंगाना आन्दोलनको सबैभन्दा पहिचान भएको व्यक्ति मानिन्छन् । २०१० मा तेलंगाना राज्यका लागि आन्दोलन उत्कर्षमा थियो गदरले तेलंगाना प्रजा फ्रन्ट (टिपिएफ) पार्टी गठन गरेका थिए । तेलंगाना आन्दोलनमा गदरका गीतहरू गीत अम्मा तेलंगाना, ढोल ठोक, पोस्दुस्थुन्ना पोद्दुमीदा नाडुस्थुन्ना कालमा तेलंगाना आन्दोलनको मुख्य गीत बन्यो ।
जब गदरले ऐ भुरु मानादिरा (यो गाउँ हाम्रो हो) गीत गाउँथे हजारौं जनता सँगसँगै गाउन थाल्थे । उनको गीत अमेरिकी साम्राज्यवाद विहान टुथपेस्टको रूपमा आउँछ, दिउँसो कोकाकोलाको रूपमा आउँछ र साँझ रम-ह्वीस्कीको रूपमा आउँछ निकै चर्चित छ । गदरलाई १९९५ सर्वोत्तम गीतकार नन्दी पुरस्कार ओरे रिक्सा फिल्मका लागि दिइयो र २०११ मा गदरले सर्वोत्तम गायक पुरस्कार जय बोलो तेलंगाना फिल्मका लागि पाएका थिए । २०१४ मा तेलंगाना राज्य बन्यो ।
गदर चुनावी राजनीतिमा लहसिए तर धेरै ढिला भइसकेको थियो । गदरले २०१८ को तेलंगाना विधानसभाको चुनावमा जीवनमा पहिलो पल्ट मतदान गरेका थिए । पछि गदर अम्बेडकरवादी संविधानवादतिर लागे अनि बुद्धम शरणम गच्छामि । राहुलको भारत जोेडो अभियानमा तेलंगानाको खम्मममा कांग्रेसको एक जनसभामा जुलाई २ मा गदरले राहुलसँगै भाग लिएका थिए । गदरको राहुल गान्धीसँग अंकमाल गरेको फोटो अहिले पनि चर्चामा छ ।
मुटु शल्यक्रियाको एकदिन पहिला २ अगस्तमा गदरले द टाइम्स अफ इंडियालाई एउटा पत्र लेखेका थिए जुन उनको मृत्युको दिन ६ अगस्त अनलाइन संस्करणमा छापिएको छ । म गुम्मदी विट्ठल राव । गदर मेरा गीतहरूको नाम । मेरो जीवन न्याय र समानताको लडाइमा वित्यो ।
माक्र्सवाद, लेनिनवाद, माओवाद, जनवाद र समाजवाद प्रति मेरो प्रतिबद्धता अतुलनीय रहेको छ । हालै मैले जनतासँग पदयात्रा मार्चमा यात्रा गरेको छु । पदयात्राको हाम्रो मुख्य नारा थियो हाम्रो भूमि हाम्रै होस् । म जनतालाई साक्षी राखेर वाचा गर्छु म स्वस्थ्य भएर तपाईंहरू माझ आउने छु, सांस्कृतिक आन्दोलनलाई फेरि एकपटक सुरु गर्नेछु र जनताको बाँकि ऋण तिर्ने छु ।
गदरले जीवनको भोगाइबारे आफ्ना अनुभूति लेखेका थिए । निको भएर फेरि जनताको सेवामा आउने चाहना राखेका थिए तर समयले उनलाई पर्खेन । रेला रे, रेला रे, रेला रे …।
भरत पाेख्रेलबाट साभार
प्रतिक्रिया दिनुहोस्