२०८१ मंसिर ७
                           

अधिवेशन अगावै ठेकेदारहरुले छाने नेता, ठूला दलबीच सहमतिको भागबण्डा

साझा थलोमा तथानाम गाली गरेर नेतृत्व हत्याउनुभन्दा सहमतिको अभ्यासद्वारा नेतृत्व चयन गर्नु नै उत्तम विकल्प भएको निष्कर्ष निकाल्दै निर्माण व्यवसायीहरुले अधिवेशन अगावै नेता छानेका छन् ।

दलीय भागबण्डामा अधिकांश व्यवसायीहरु सहमतिको विन्दुमा आएपछि निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षसहित पदाधिकारी छनौट आज सम्पन्न भएको छ ।

भागबण्डाअनुसार अध्यक्ष र सहकोषाध्यक्ष राप्रपा निकटको पोल्टामा गएको छ । महासचिव र सहसचिव एमाले निकट भनिएकाले हात पारेका छन् । त्यस्तै काँग्रेसले प्रथम उपाध्यक्ष, कोषाध्यक्ष लिएको छ भने माओवादी केन्द्र द्वितीय र तृतीय उपाध्यक्ष पाएकोमा मख्ख देखिएको बताइन्छ । अध्यक्षमा राप्रपाका दीपेन्द्र थापा सर्वर्सवम्मत चयन भएका हुन् ।

अन्य पदाधिकारीको नामावली चयन सम्बन्धित दलको सिफारिसले टुँगो लगाउने जानकारी दिइएको छ । लामो छलफलपछि अध्यक्षसहितको पदाधिकारीमा भागबण्डा लगाएर सहमति गरेपनि सदस्यहरुमा भने टुँगो लगाउन सकिएको छैन । सदस्यका आकांक्षी आवश्यकताभन्दा बढी भएका कारण सदस्य बागबण्डामा हम्मेहम्मे पर्ने देखिन्छ ।

उनीहरुले आगामी बुधबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यमा संघको सातौं जिल्ला अधिवेशन एवम् १६ औं साधारणसभाको उद्घाटन र भोलिपल्ट निर्वाचन गर्ने योजना बनाएका छन्  । त्यतिबेलासम्म सदस्यहरुको नाममा भागबण्डा मिलाउन सके निर्वाचन गर्न नपर्ने बताइएको छ । जन आस्था

प्रतिक्रिया दिनुहोस्