२०८१ मंसिर ७
                           

बुबासम्बन्धी सुदनका चार सम्झना

 सुदन किराँती –   बुबा र म पाडी किन्न गयौँ । गोगने पञ्चायतको सल्लेनी गाउँमा रोगी जस्तो देखिने सानो पाडी थियो । मन नपरे पनि किन्नु हाम्रो बाध्यता थियो । हामीसँग नगद गनेर छानीछानी ल्याउने अवस्था थिएन । उधारोमा ल्याउनेपर्ने,दाम थियो–सात सय । पाडी धेरै रोगी भएकोले हिंड्न सक्दैन्थ्यो । बीस रुपियाँको एक सय ओटा सुन्तला आउँथ्यो । हामीले भाइबहिनीका लागि एक झोला सुन्तला किन्योँ । मैले सुन्तला झोलामा बोकेँ । बुवा र म पाडी डोर्योउँदै गफ गर्दै गर्दै आयौँ । पाडी हिंड्न सकेन । बाटोको एउटा गोठमा घाँसको प्रवन्ध गरेर, त्यही बाँधेर छाडी घरतिर लाग्यौँ ।

बाटो उकालो थियो । समय झिसमिसे साँझ अँध्यारो अँध्यारो हुँदै थियो । बाटोमा उकालो निस्कदैँ गर्दा धेरै तल वरताङ् पुगियो । त्यहाँ बुवाले आफूले लगाएको कोट देखाउँदै सोध्नुभयो,‘हेर छोरा, यो कोट मैले लण्डनबाट ल्याएको हुँ । मलाई कत्तिको सुहाउँछ हेर त !’
मैले भनेँ ‘आहा, कस्तो राम्रो !धेरै राम्रो देखिन्छ बुवा !त्यो बेलासम्म खासमा राम्रो,नराम्रो छुट्याउँन सक्ने पनि भइ सकेको रैनछु म ।उहाँले फेरि सोध्नुभयो, ‘म अरुको बाउभन्दा राम्रो देखिन्छु कि मभन्दा अरुकै बाउ राम्रो देखिन्छ ? ’मैले भनेँ ‘तपाइँ धेरै राम्रो । सुहाएको राम्रो पनि देखिन्छ ।’
हिंड्दै आउँदा साँझ झमक्कै पर्दै आयो । बुवाले उकालो बाटोमा धेरै कुरा सम्झाउनुभयो । मैले उहाँको कुरा सुनिरहेँ,पछिपछि हिंड्दै । ‘ठूलो मान्छे बन’ भन्नुभयो । तर,कसरी बन्ने ? कुनै सूत्र थिएन । एक्कासी भन्नुभयो,‘पछि तँ यो बाटोमा हिड्छस्,लेकबेंसी गर्छस् । म त मरि जान्छु,मैले भनेको कुरा सम्झिन्छस् र तँ मेरो यादमा रुन्छस् होला ।’

बुवाको कुराले मेरो मन निथ्रुक्कै भिजायो । मैले मृत्युलाई नराम्रो गरी सम्झेको थिएँ । बुवा लास भएको कल्पना गरेको थिएँ । किन्न गएका थियौँ पाडी । तर,बुवाले नसोचेको कुरा सुनाउनु भयो ।अहिले पनि घरी,घरी यही कुरा कानमा गुञ्जिरहन्छ ।

जेलभित्रको भेट

खैरो टिसर्ट र टोपी लगाएको एउटा बूढो मान्छे पर उभिरहेको देखेँ । बुवा जस्तै लाग्यो । सेना, पुलिस प्रशस्त पहरा दिइरहेका थिए । ओहो, बुवा नै पो हुनुहुँदो रहेछ ! आज मेरो आफन्त भेट्न पाइयो भने दंग परेँ । बुवा मलाई देखेर छड्के पर्नुभयो । बुवा र मेरो आँखा जुध्यो । मलाई देख्ने बित्तिकै बुबाले मलाई हेर्न सक्नुभएन । मैले पनि बुवालाई हेर्न सकिन । हामी दुवै एकअर्कालाई छड्के पारेर जेलको फलामे चेन गेटभित्र र बाहिर उभिइरह्यौ ।
मैले बुवा यति धेरै रोएको कहिल्यै देखेको थिइँन । बुवा जहिल्यै कडा स्वभावको हुनुहुन्थ्यो । तर, आज उहाँ यस्तो रुनुभयो कि बुवाको एकतिरको आँखाको आँसु फलामको डण्डीमाथि बज्रिएर छरपस्ट हुँदै गरेको देखेँ । अर्काे आँखाको आँसुको छाँगो भुईंको बालुवामाथि खसेर बिलाउँदै गरेको देखेँ, मलाई एकदमै ननिको लाग्यो । भित्रभित्रै मूर्च्छा परिरहेँ ।
कुनै राजनैतिक पृष्ठभूमिबाट आएको परिवार होइन हाम्रो।अझ यसो भनूँ,मेरो परिवारलाई राजनीतिको ‘र’पनि थाहा छैन । बुवाले भन्नुभयो,‘लाहुर गइनस्,हङकङ गइनस्,अब क्रान्ति गर्ने सपनामा यता हिँडिस् । क्रान्ति गरिस् हैन त छोरा !तँलाई यस्तो मैले के देख्नु प¥यो !’

बुवाले एकपल्ट हैन, दुईपल्ट हैन, तीनपल्ट भन्नुभयो । पिँजडाभित्र थुनिएको छोराको स्थिति देखेर बुवाले त्यसो भन्नुभएको मैले बुझेँ ।
‘मलाई निकाल्नुस बुवा,’ भनेर म रुनेवाला थिइनँ । म बुवालाई हतोत्साही बनाउँन चाहन्नथेँ । मनभित्र आगो सम्हालेर बुवालाई केही ढाडस दिन खाजेँ । आखिरमा मानिसको विवेक भनेको त्यही त रहेछ, समय र परिस्थितिलाई बुझेर बोल्ने ।

नाटक सही । तर,बुवालाई म ठीकठाक छ भन्ने देखाउनु थियो । मेरो कालो न कालो अनुहार त्यो बेला सफा भइसकेको थियो । मैले गम्भीर भएर भनेँ,‘यो जेल त पशु थुन्ने होइन,बहादुर छोराछोरी थुन्नलाई बनाएको रहेछ । तपाइँको छोरा बहादुर परेँ, थुनिएँ किन चिन्ता गर्नुहुन्छ ? यो देशको चक्का उल्टो घुम्दैछ । काम गर्नेले खान पाउँदैन,जसले काम गर्दैन,ऊ मस्तले खाने गर्दछ, ठग्ने झन धनी हुँदैछ, काम गर्ने झनझन गरीब । यो भेदभाव तोड्नु छ । बुवा समय छ । बेला छ । पालो छ । मन्त्री हुने सम्भावना छ । पहिले पहिले यो जेलमा ठूला नेताहरु पनि बसेका थिए । मैले यहाँ आएर यो कुरा थाहा पाएँ ।’

बुवा केही बोल्नुभएन । उहाँले आँसु थाम्ने सक्नुभएन, समहाल्न सक्नुभएन आफूलाई । परैबाट लम्केर तीन हजार रुपैयाँ दिनेभयो । मैले पनि लम्केरै थापेँ । बुवाले एकपल्ट पुलुक्क हेर्नुभयो । फरक्क फर्किनुभयो अनि जानुभयो ।

खोर्सानी र बुबा
बुबाको आश्चर्यलाग्दो बानी थियो । उहाँ बत्तीस ओटासम्म अकबरे खोर्सानी खानुहुन्थ्यो । हुन त म पनि अहिले तेह्र ओटासम्म खान्छु । वंशानुगत होला कि भन्ने लाग्छ । अरुलाई मानसिक तनाव हुँदा रक्सी रुच्छ भन्छन, मलाई चाहिँ डल्ले खोर्सानी ।
बुवाले त्यति धेरै किन खाएको होला भनी म सोच्छेँ । पछि थाहा पाउँदा त्यो गरीबको मसला पो रहेछ । गाउँमा सबैको घरमा तरकारीमा झोल लगाएर खाने,तरकारी पकाए दाल नपकाउने,दाल पाक्यो भने तरकारी नपकाउने, दाल नैं तरकारी, तरकारी नै दाल मानेर खाने चलन थियो । हाम्रो घरमा पनि त्यस्तै हो । उहाँले हरेक गाँसमा एउटा खुर्सानी खानुहुन्थ्यो । खाना त्यति मीठो हुँदैनथ्यो । रुचाउनलाई होला सायद ।
खोर्सानीलाई गरीबका मसला किन भनेका होला भने गड्याम्म टोकेपछि पिरोले जिब्रो अलमलिन्छ । त्यही समयमा एक गाँस खाना निल्ने अनुकुल समय बन्छ र भात जान्छ । गाउँमा त्यो समयमा भएको चिज पनि राम्रो बनाएर खाने प्रचलन थिएन । चेतनाको कमीले होला । खानका लागि बाँच्ने भन्दा पनि बाँच्नका लागि खाने काम हुन्थ्यो ।

बुबासँग कोदो रोप्दा
हामीले गाउँमा कोदो रोप्ने बारी ठेक्का लिएका थियौँ । बेंसीमा पनि ठेक्का लिएको बारी छुट्टै थियो । त्यो ठाउँमा एकदम राम्रो कोदो फल्थ्यो । असारको बेला कोदो रोपिन्थ्यो । हामी बिहानै बारीमा जान्थ्यौँ । बुवाले खन्नुहुन्थ्यो । दिदी र म कोदो रोप्थ्यौँ । रोपेपछि घाँस काट्दै काट्दै घरमा आउनुपर्थ्याे । खाना खाएर फेरि रोप्न जानुपर्थ्याे ।

श्रोतः पलपलको मृत्यु

प्रतिक्रिया दिनुहोस्