२०८१ आश्विन ४
                           

सुनकोशीका शिक्षकहरुलाई सकारात्मक पद्धति तालिम

सुनकोशी । सुनकोशी गाउँपािलकाका शिक्षकहरुलाई सकारात्मक पद्धति सम्बन्धी तालिम सञ्चालन भईरहेको छ । सुनकोशी गाउँपालिका–४, बिमरेनीमा रहेको सिन्धुबीच रिसोर्टमा तालिम सञ्चालन भईरहेको हो । सुनकोशी गाउँपालिका शिक्षा शाखाको समन्वयमा तालिम सञ्चालन भएको हो ।

तालीममा सुनकोशी गाउँपालिकाका सात वटै वडा भित्र रहेका विद्यालयहरु क्रमशः बाघ भैरब मावि, ठोकर्पा मावि, जनजागृती मावि, महेन्द्रकान्ति मावि, गणेश मावि, वेत्रावती आवि, भूमेश्वरी मावि, रतनकोट आवि, कोल्दोङ मावि, महेन्द्रोदय मावि, सेतीदेवी मावि, सेतीदेवी शारदा मावि र जाल्पा माविका शिक्षकहरुलाई तालीम सञ्चालन भएको हो ।

कार्तिक २२–२४ सम्म सञ्चालन हुने उक्त तीन दिने तालीममा सुनकोशी शिक्षा शाखाले समन्वय गर्दै आएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले आज उक्त कार्यक्रमको अवलोकन तथा अनुगमन गर्नु भएको छ ।

अनुगमन तथा अवलोकनका क्रममा अध्यक्ष तिमल्सिनाले सहभागीहरुलाई सक्रिय सहभागिताको लागि अनुरोध गर्दै भन्नुभयो, चाईल्ड फण्ड जापानको साझेदारीतामा टुकी संघ सुनकोशीबाट यस परियोजना कार्यान्वयन भईरहेकोमा खुशी लागेको छ । गुणस्तरीय शिक्षा, सिक्ने सिकाउने वातावरण सिर्जना गर्न, बालबालिकाको अधिकार सम्बन्धमा सुसूचित गर्न र लैङ्गिक संवेदनशिल पक्षबाट यस परियोजनाबाट सामुदायिक विद्यालयहरुले नवीनतम अवधारणाहरुको प्रयोग गरी अवलम्बन गर्नु पर्ने देखिएको छ ।

उहाँले भन्नुभयो, यस पालिका भित्र रहेको समस्याहरु मध्ये एक,बालश्रम पनि हो । बालश्रम नियन्त्रण गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता पनि हो । सुनकोशी गाउँपालिका भित्र रहेको अर्को समस्या भनेको बालविवाह हाम्रो समुदायमा अझै पनि विद्यमान छ । यसलाई पनि जरै देखि उन्मुलन गर्नुपर्ने जरुरी छ । विशेषतः सामुदायिक विद्यालयहरु माथि अभिभावकहरुले गर्ने विश्वासमा कमी हुँदै गएको छ ।

पालिकाले शिक्षामा लगानी गरेको छ तर लगानीमा सोचे जस्तो प्रतिफल देखिएको छैन । त्यो तपाईँ हामी सबैको कमजोरी हो । पालिकास्तरमा बनेका नीति नियमहरुको पूर्ण रुपमा पालन गरिएको छैन । सामुदायिक तथा नीजि विद्यालयहरुलाई संगसँगै लिएर नीति कार्यक्रमहरु अगाडि ल्याएका छौँ । यद्यपी सामुदायिक विद्यालय प्रति अभिभावकहरुको चासो वृद्धि गर्न यहाँ उपस्थित सम्पूर्ण शिक्षकहरुमा अनुरोध गर्न चाहन्छु ।
शिक्षकहरुले पनि व्यवहारिक ज्ञान तथा क्षमता आफु अद्यावधिक हुन जरुरी छ । सिक्ने सिकाउने वातावरण सिर्जना गर्न र चासो राखिदिन आग्रह गर्दछु । गत वर्ष पालिकाले लिएको (कक्षा ८)को पालिकास्तरको परीक्षा सन्तोष जनक देखिएन त्यसकारण तपाईँ शिक्षकहरुले चासो बढाईदिनुहुन अनुरोध गर्दछु ।

पालिकास्तरबाट सञ्चालन हुने हरेक गतिविधि र टुकी संघ सुनकोशीबाट सञ्चालन हुने हरेक गतिविधिमा हातेमालो गरी सहकार्य गर्ने विषयमा हामी प्रतिवद्ध छौँ । विद्यालयका प्रधानाध्यापकहरुसँग एक चरणको बैठक बस्ने योजना मा पनि छौँ ।र, आगामी कार्यक्रम सँगसँगै यस तालीम अवधिभर यहाँहरुले उक्त सीपलाई आफ्आप्नो विद्यालयमा सीप हस्तान्तरण गर्न पनि अनुरोध गर्दछु ।

तालिममा साझेदार संस्थाका एरिया मेनेजर मनोज कुमार थारुले परियोजनाको बारेमा संक्षेपमा जानकारी गराउँदै परियोजना ल्याउनुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
चाईल्ड फण्ड जापानको आर्थिक तथा प्राविधिक सहयोगमा टुकी संघ सुनकोशीबाट विद्यालयमा लैङ्गिक समानता तथा सुरक्षा प्रवद्र्धन परियोजना अन्तर्गत, गत कार्तिक १९–२१ सम्म बालक्लवका सदस्यहरुलाई सहपाठी परामर्श तालीम सञ्चालन भईसकेको छ ।

तालीममा, सुनकोशी गा.पाका उपप्रमुख कान्छी लामा, शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधि, सात वटै वडाका वडाध्यक्षहरु, टुकी कार्यकारिणी समितिका पदाधिकारी तथा परियोजनाका कर्मचारीहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्