२०८१ मंसिर ८
                           

नमूना सामुदायिक विद्यालय व्यवस्थापन गर्न गोष्ठी

हेटौंडा- सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ को नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत छनौटमा परेका २० सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुकालागि तीनदिने कार्यशाला गोष्ठीको सुरु भएको छ ।

हेटौंडामा सञ्चालन भएको गोष्ठीलाई उद्घाटन गर्दै प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले नमूनाको शुरुवात आफैंबाट गर्नुपर्ने बताए । ४० जना सहभागी हुनुपर्ने कार्यशालामा केहि प्रधानाध्यापक र अध्यक्ष नदेखेको प्रति इङ्कित गर्दै दुलालले समय दिन नसक्ने, ध्यान दिन नसक्नेले जिम्मा नलिन आग्रह गरे । ‘विद्यालयलाई समय दिन नसक्ने ब्यबस्थापनबाट नमूना विद्यालय बन्न सक्दैन,’ दुलालले भने– ‘यो कार्यशालामा हामी बनिबनाउ बाटो हिँड्न आएका हैनौं, आफैं बाटो बनाउन सक्नु पर्छ ।’

अहिलेको आवश्यकतालाई सम्बोधन गर्नको लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको र त्यसको लागि सरकारद्वारा लगानी गरिएका सामुदायिक विद्यालयलाई नमूना बनाएर जानु पर्ने आवश्यकता रहेकोले यसको शुरुवात गरेको दुलालले बताए । ‘पहिला हामीले पढ्दा भएको गुणस्तरीय शिक्षा अहिले हामीले पढाउदा हुन सकेन,’ मन्त्री दुलालले भने– ‘हामीले अहिलेको आवश्यता पहिचान गर्दै सोही अनुसार अगाडि बढ्न सक्नु पर्छ ।’

शिक्षा विकास निर्देशनालय प्रदेश नं. ३ को आयोजनामा सोमबारबाट सुरु भएको कार्यशालामा निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुईटेल, मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीलगायतको उपस्थिति रहेको थियो । प्रदेश नं. ३ मा सामाजिक विकास मन्त्रालयले यस आर्थिक वर्षमा १३ जिल्लाका २० सामुदायिक विद्यालयलाई छनोट गरेको छ । जुन प्रदेश सरकारको लगानीमा नमूना विद्यालय बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्