नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको सहयोगमा पाँचपोखरी थाङ्पाल गाउंपालिका वडा नं. ७ को स्थानीय समुदायका लागि ठूलो बोङबारी गोव्रे खानेपानी योजना हस्तान्तरण गरेको छ ।
विनाशकारी भूकम्प पश्चात खानेपानीको समस्या भोग्दै आएका गोब्रेबासीहरुका स्थानीय उपभोक्ता समेतको सहभागितामा सोसाईटीले सम्पन्न गरेको योजनामा ४० घरधुरी परिवारका लागि १९ वटा धारासहितको निर्माण कार्य सम्पन्न भएको योजनाको जिम्मेवारी समुदायमा हस्तान्तरण भएको हो ।
खानेपानीको अभावका कारण समुदायको जीवनस्तरमा नै असर पर्ने घटनाको स्मरण गराउंदै हाल सम्पन्न भएको योजनाले खानेपानी र सरसफाईमा समुदायको पहुंच बढेको हुंदा आयोजनालाई दीर्घकालीन प्रयोगको लागि उपभोक्ता समिति मात्र नभई सबै उपभोक्ता चनाखो हुनपर्ने कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले बताएका छन् ।
भूकम्प लगतै रेडक्रसले ग्रामीण क्षेत्रमा काम गर्न आउंदा रेडक्रसलाई नचिन्ने समुदाय अहिलो पछुतोमा परेको भन्दै गोव्रे लगायत रेडक्रसले सम्पन्न गरेका खानेपानी योजनाहरु गुणस्तर र प्रभावकारी रहेको पाँचपोखरी थाङ्पाल गाउंपालिका वडा नं ७ का वडा अध्यक्ष सार्की तामाङले बताए ।
खानेपानीको लागि धेरै दुखकष्ट झेलिरहेको अवस्थामा गोव्रे खानेपानी योजना बनीसकेपछि सरसफाईमा समेत परिवर्तन भएको, खेरजाने पानीबाट करेसाबारी समेत लगाउन सकेको समितिका कोषाध्यक्ष निमा तामाङ लगायतका उभोक्ताले बताएका छन् ।
भूकम्प पश्चातको पुनर्लाभ कार्यक्रम जापानीज रेडक्रसको आर्थिक सहयोगमा जिल्ला शाखाले पाँचपोखरी थाङ्पाल गाउंपालिकामा २० वटा खानेपानी योजना संचालन गरेको मध्ये यो योजनाको कुल लागत ३७,२५,०७९।– रहेको मध्ये समुदायको तर्फबाट रु ६,९१,८४६।– बराबर श्रमदान गरेको थियो ।
बाँसखर्क र लागर्चेको तीनवटा खानेपानी योजना बाहेक बाँकी सबै योजनाको समुदायमा जिम्मेवारी हस्तान्तरण भईसकेको जिल्ला शाखाका मन्त्री कमलचरण कक्षपतिले बताएका छन् ।
गोब्रेको टासी क्षोलिङ गूम्बामा सञ्चालन भएको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम समितिको अध्यक्ष रिन्जेन लामाको अध्यक्षतामा सञ्चालन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्