३२ जेठ, सिन्धुपाल्चोक । चौतारा साँगाचोक गढी नगरपालिका भित्रका विपन्न तथा सुविधाबाट बञ्चित भएका बालबालिकाहरुले बालग्राममा बसेर निशुल्क पढ्न पाउने भएका छन् ।
नगरपालिकाले आर्थिक रुपले विपन्न, लोपोन्मुख, सीमान्तकृत समुदाय, शहीद तथा बेपत्ता परिवार, आमा बाबु विहीन वा विद्यालय मर्जका कारण विस्थापित वा अन्य लक्षित वर्गका बालबालिकालाई पढ्न पाउने सुविधा सहित आवासीय (होस्टल) बालग्रामको अवधारणा ल्याएको मेयर कृष्ण प्रसाद सापकोटाले बताए ।
नगरपालिकाले वडा नं ७ स्थित मेलचौरको दरवार डाँडामा आवासीय (होस्टल) बालग्राम स्थापना गरेको हो । हालै श्री ज्ञान मन्दिर माध्यमिक विद्यालय अन्तर्गत रहने गरी बालग्रामको नाम दिएर आवासीय (होस्टल) को सुरुवात हुन लागेको हो । नगरपालिकाले तोकिएको मापदण्डमा परेका बालबालिकाले बालग्राममा निशुल्क खाना बस्न पाउनेछन् । साथै यहाँ रहेका बालबालिकाले ज्ञान मन्दिर माबिमा निशुल्क पढ्न पाउनेछन् ।
यसअघि नगरपालिकाले मापदण्डमा उल्लेख भए अनुसारका बालबालिकाको सम्बन्धित विद्यालय र वडा कार्यलयको सिफारिस सहित निवेदन माग सहितको सुचना समेत जारी गरेको थियो । ३६ जना बालबालिका बस्न मिल्ने बालग्राममा हालसम्म २७ जना को आवेदन परेको छ । उनीहरुलाई मापदण्डअनुसार छनौट गर्ने पालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्