१४ असार , सिन्धुपाल्चोक । यु.एम.बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक सहित पक्राउ परेका ३ जनालाई सिन्धुपाल्चोक जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । बनेपा नगरपालिका १ का केन्द्रिय प्रवन्धक रुषन श्रेष्ठ, बलेफी १ का संचालक समिति सदस्य राजन श्रेष्ठ र चौतारा साँगाचोकगढी ५ का चौतारा शाखा प्रवन्धक रामकृष्ण कार्कीलाई पक्राउ गरी अदालत बुझाएको थियो । अदालतले फरार १२ जनालाई पक्राउ गर्नसमेत अनुमति दिएको छ ।
उनिहरु बचत रकम अपचलन तथा हिनामिना गरि फरार थिए । ८८ जना बचतकर्ताले प्रहरी कार्यालयमा जाहेरी दिएकोमा बचत कर्ताहरुको ७ करोड ८९ लाख १९ हजार ९ सय ७७ रुपैया हिनामिना भएको बताइएको छ ।
काभ्रे बनेपामा स्थित केन्द्रिय कार्यालय रहेको यु.एम.बचत तथा ऋण सहकारी संस्था लिमिटेले सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरु मार्फत निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिने प्रलोभन देखाएको पाइएको छ । साथै निक्षेपकर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए । मासिक -त्रैमासिक- वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पुर्ण सावा ब्याज फिर्ता पाउने विश्वासले बचतकर्ताहरुले रकम जम्मा गरेका हुन ।
पीडित बचतकर्ताको जाहेरीको आधारमा सहकारीका अध्यक्ष काभ्रेका रामशरण श्रेष्ठ, उपाध्यक्ष रमादेवी श्रेष्ठ, सचिव मन्जेश तौजले, कोषाध्यक्षद्वय राजाराम तौजले र समिर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सञ्चालक समितिका सदस्यहरू विक्रम मानन्धर, सोमकाजी शाक्य, रिना मानन्धर लेखा समिति सदस्य रुषा श्रेष्ठ र लेखा समिति संयोजक लक्ष्मीनारयण श्रेष्ठको नाममा पनि पक्राउ पुर्जी जारी गरिएको छ । चौतारा शाखा प्रमुख दिनेश तामाङ र बाह्रबिसे शाखा प्रमुख विजेन्द्र रंजितकारलाई पनि पक्राउ गर्न अनुमति दिइएको छ ।
पटक –पटक ताकेता गर्दा पनि बचत रकम फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको भन्दै बचतकर्ताले कर्मचारी तथा संचालक समितिका पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियम अनुसार पाउनु पर्ने निक्षेप र सो को ब्याज रकम नपाएको हो । निक्षेप र ब्याज रकम दिनुको साटो संस्था नै बन्द गरि फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्