२०८१ पुष ७
                           

बाढीले  सिन्धुपाल्चोकको  चिन्डे र बाह्रबिसेको पुल बगायो 

अश्मी स्याङतान-  सिन्धुपाल्चोक । गए रातिको अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको विभिन्न नदि तटिय क्षेत्रमा क्षति पुर्याएको छ । मानविय क्षति भने भएको छैन । भारी वर्षाका कारण आएको बाढीले एउटा झोलुङ्गे पुल र एउटा बेलीब्रिज बगाएको छ । बाढीले नदी तटिय क्षेत्रका सडक, गोरेटो बाटो, खेत, तटबन्ध र घाटहरू समते बगाएको छ । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका सडक सञ्जालबाट टुटेको छ भने विजुली बत्तीको लाइन पनि विच्छेद भएको छ ।

बाढीले पाँचपोखरी चिन्डेको झोलुङ्गे पुल बगायो ।

बाढीले पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ चिन्डेमा रहेको झोलुङ्गे पुल बगाएको छ । पालिकाको १ नं. वडा जोड्ने जतन गाउँ जाने पुुल बगाएको हो । यसैगरी तिपेनी मेलम्ची सडक खण्डको बाटोमा पनि बाढीले क्षती पुर्याएको छ । गाउँपालिका अध्यक्ष टासी ह्योल्मो लामाले पालिका जोड्ने सडक पुर्ण रुपमा बन्द भएको बताए । अध्यक्ष लामाले पाँचपोखरीमा फेरी ठुलो बिपती आइलागेको बताउदै खेती योग्य जमिन धेरै बगाएको जानकारी दिए । उनले भने बत्ती पनि छैन ,नदी किनाराका कटेजहरु बाढीले लगे , कति लगे लगे क्षतिको विवरण हिसाब नै छैन । गाउँपालिका अहिले सडक, बाटो, यातायात र विजुली बत्तीबाट पूर्ण रुपमा विच्छेद भएको छ ।
यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका ८ तिपेनीमा रहेको नेशनल हाइड्रोपावरको पावर हाउसमा पानी पसेको र ड्याममा क्षती भएको प्रहरीले बताएको छ । कर्मचारीहरु सबै सुरक्षित रहेका छन् । क्षतीको विवरण भने आउन बाँकी छ । यस्तै बाढीले उत्तिस घारी स्थित इन्द्रावती नदिमा लगाएको अन्दाजी १ सय मिटर ग्याबिन जाली बगाई तिपेनी मेलम्चीको सडक अबरोध भएको छ ।

भिषण वर्षापछि आएको बाढीले बाह्रविसेको बेलिब्रिज बगायो ।

सोमबार विहान बाह्रविसे नगरपालिका ३ खागदल ठाडो खोलामा आएको बाढीले बाह्रबिसे– तातोपानी सडक खण्डको मोटरेबल पुल ( बेलि ब्रिज) बगाएको छ । सो ब्रिज बाढीले भोटेकोशीको बिचमा पुर्याएको बताएको छ । अहिले बाह्रविसे–तातोपानी सडक अबरुद्ध रहेको छ ।

३ घर जोखिममा ,९ जनालाई सुरक्षित स्थानमा सारे ।

खागदल खोला नजिक रहेको ३ घर जोखिममा रहेको प्रहरीले बताएको छ । त्यहाँ रहेका ९ जना मानिसहरुलाई नेपाली सेना र नेपाल प्रहरीले सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईका अनुसार उद्धार पश्चात ९ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
जसमा खागदल वस्ने वर्ष ७९ को लोक बहादुर कार्की र उनको श्रीमती वर्ष ६८ की कमलादेवी कार्की, छोरा वर्ष ४२ को नवराज कार्की र छोरी वर्ष ३५ की निर्मला रोका रहकेका छन् । यस्तै सोही ठाउँका वर्ष ४१ को विष्णु मगर उनको श्रीमती वर्ष ३२ की मनमाया मगर र छोरी वर्ष १५ कि रेविका मगरलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै सोही स्थान वस्ने वर्ष ३१ को साजन श्रेष्ठ र वर्ष २१ को सुशील श्रेष्ठलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

जिल्लाका नदि तटिय क्षेत्र र बाढी पहिरोबाट जोखिमयुक्त स्थानहरुमा विभिन्न इलाका प्रहरी कार्यलयबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीले खोला किनारा छेउछाउमा बस्ने स्थानिय बासिन्दाहरूलाई सतर्कता अपनाउन साइरन बजाउने, माइकिङ लगायत अन्य जनचेतनामुलक कार्य गरी जोखिममा रहेकाहरुको उद्धार गरिएको डिएपी भट्टराईले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्