२०८१ मंसिर ६
                           

खागदलमा बेलिबृज बनाउन सांसद सापकोटाले गरे पहल

१ श्रावण , सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका वडा नं ३ स्थित खागदल खोलामा तत्काल बेलीब्रिज राखिने भएको छ ।आइतबार राती परेको अविरल बर्षाका कारण आएको बाढीले पुल बगाउँदा अरनिको लोकमार्ग अबरुद्ध भएपछि सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय माधव सापकोटा ‘सुबोध’ को नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग गरेको छलफलपछि तत्काल बेलीब्रिज राख्ने प्रक्रिया अघि बढ्ने भएको हो ।

मंगलबार विहान सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा सांसद सापकोटाले बाढीले पुल बगागउँदा मासिक एक अर्ब भन्दा बढी राजश्व उठ्ने तातोपानी नाका पुग्ने अरनिको लोकमार्ग अबरुद्ध बनेको विषयबारे ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले भोटेकोशी गाउँपालिकासँग जोड्ने सडक सम्पर्क टुटेको जानकारी गराउँदै छिटो भन्दा छिटो सडक सूचारु गर्ने व्यवस्थाका लागि आग्रह गर्नु भयो ।

जवाफमा मन्त्री दाहालले डाइभर्सन मार्फत तत्काल सडक सुचारु गर्न र छिटो भन्दा छिटो बेलीब्रिज राख्ने प्रक्रिया अघि बढाउन सडक विभागका महानिर्देशकलाई निर्देशन दिनु भयो ।
छलफलमा सिन्धुपाल्चोक १ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, सडक विभागका महानिर्देशक रामहरी पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।

यसअघि सांसद सापकोटाले सोमबार संघीय संसद, प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सिन्धुपाल्चोकमा आइतबार राती परेको अविरल बर्षाका कारण पुगेको क्षतिबारे जानकारी गराउँदै यथासिघ्र सडक सुचारु गर्न, जोखिममा परेका नागरिकलाई उद्धार गर्न र पूर्वतयारीका अन्य कार्य गर्न सरकारको ध्यानकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्