२०८१ मंसिर ६
                           

नेकपा बिभाजन सँगै एमालेमा रहेका नेताहरू माओवादी केन्द्रमै फर्किए

अशोक पराजुली / चौतारा – २०७५ जेठ ३ मा दुई ठूला वाम घटक ( नेकपा एमाले र माओवादी केन्द्र ) बीच एकीकरण भई बनेको नेकपा बिभाजन भए सँगै एमाले तिर गएका जिल्लाका प्रदेश तथा जिल्ला स्तरीय नेताहरू पुनः पुरानै घर माओवादी केन्द्रमा फर्किएका छन् ।

बिहिवार नेकपा ( माओवादी केन्द्र ) को पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बिच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपाध्यक्ष अग्नि सापकोटा,जिल्ला इन्चार्ज केशव नेपाल,प्रतिनिधिसभाका सांसद एवं नेता माधव सापकोटा सुबोध,पुर्व प्रदेश मन्त्री एवं प्रदेशसभा सांसद युवराज दुलाल,बागमती प्रदेश कमिटी अध्यक्ष एवं प्रदेशसभा सांसद सरल सहयात्री पौडेल,केन्द्रिय सदस्य चन्द्रबहादुर थापा किशोर,जिल्ला पार्टी अध्यक्ष गोविन्द पराजुली लगायत नेताहरूको उपस्थितिमा एमाले परित्याग गरि माओवादी केन्द्रमा समाहित भएका नेताहरूलाई स्वागत गरिएको हो ।

१० बर्षे जनयुद्धमा सामेल भएर जनयुद्ध लडेका नेताहरू कमल माझी,चन्द्र धिमालकोटी ‘ भूषण’,केपी दङ्गल ‘भाव’,रहरमान तामाङ,डिवि तामाङ,सुर्य रोक्का,सुरेश श्रेष्ठ ,लक्ष्मण तामाङ,उत्तम सिग्देल र गणेश तामाङ नेकपा ( माओवादी केन्द्र) मै फर्किएका हुन् ।माओवादी केन्द्रका नेताहरूसँगको केहि समय अगाडि देखिको छलफल र भेटघाटले सार्थकता पाएको माओवादी केन्द्र इन्द्रावती गाउँपालिका कमिटीका कोषाध्यक्ष आशिष लामाले बताए ।

दश बर्ष जनयुद्ध लडेर ल्याएको गणतन्त्र र प्राप्त परिवर्तनलाई संस्थागत गर्न र यो ब्यवस्थाको रक्षा गर्नको लागि पनि माओवादीको विकल्प नभएको र अन्य पार्टीमा रहेर काम गर्नका लागि माओवादीबाट गएकाहरुलाई सहज नभएकोले आफ्नो मुलघरमै फर्किएको नेता कमल माझीले बताए । उनले माओवादी छाडेर अन्य पार्टीमा गएका सम्पुर्ण नेताहरूलाई आफ्नो मूलघर माओवादी केन्द्रमै फर्किन आह्वान समेत गरे ।

नेकपा ( एमाले ) को प्रदेश कमिटी,जिल्ला कमिटी र पालिका कमिटीमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका झन्डै एक दर्जन नेताहरू माओवादी केन्द्रमै फर्किएपछि एमाले बृतमा भने हलचल मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्