-विराज ढुंगाना
केशव नेपाल प्रगतिवादी साहित्य फाँटमा स्थापित र सुपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँका उपन्यासहरूमा बेचिएकी चेली, लाहुरेको चिठी, टुहुरीको जिन्दगी र चिथोरिएको देश प्रकाशित र चर्चित छन् । शहीदकी आमा र दिदी आमा उपन्यास प्रकाशित हुन बाँकी छन् । महिला प्रश्नोत्तरमाला भाग – १, २ र ३, बालकथा– सत्यको विजय र हाम्रा बालकथाहरू, नाटकमा जेल तोडियो, बाल शहीद राजन रायमाझीको जीवनी, शब्द परिचयमाला भाग १, अखिलको इतिहास, संविधानसभा नै किन ? जनविद्रोहका आधारहरू, कवितामा नयाँ नेपाल बनाऔं, जेलको आवाज, शहीदको सम्झनामा र नयाँ मान्छेलगायत कृतिहरू प्रकाशित छन् । नयाँ कविता र कथाहरु पनि प्रकाशित हुँदै छन् । उहाँको राजनीतिक, शैक्षिक, साँस्कृतिक, साहित्यिक विषयका कैयौं लेख रचनाहरू पत्रपत्रिकारहरूमा प्रकाशित हुँदै आएका छन् ।
प्रगतिवदी साहित्यकार केशव नेपालद्वारा लिखिल “आमालाई चिठी” को लोकार्पण नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल”‘प्रचण्ड”ले प्रज्ञा भवन कमलादीमा एक सांस्कृतिक कार्यक्रममा गर्नु भएको थियो । वाहाँले यस आमालाई चिठी समाजवादी साहित्यमा उत्कृष्ट र सुन्दर कृति रहेको टिप्पणी गर्नुभएको थियो ।
नेपालले नेपाली प्रगतिवादी साहित्य फाँटमा महान् जनयुद्ध कालखण्डमा अभिव्यक्त नवीन युग चेतना, नवीन यथार्थ सौन्दर्यका मूल्य मान्यता र आदर्शहरूमा आधारित भएर आमालाई चिठी लेख्नुभएको छ । उहाँका यस अघिका कृतिहरूमा भन्दा नयाँ र फरक शैलीमा प्रस्तुत गरेर उहाँले आफूलाई नयाँ रुपमा उभ्याउनुभएको छ ।
नेपालका २०३८ सालबाट साहित्यिक रचनाहरु प्रकाशित हुँदै २०८० साल सम्म आईपुग्दा “आमालाई चिठी” २२औँ कृतिका रुपमा प्रकाशित भएको छ । उहाँको “बेचिएकी चेली” लोकप्रिय र चर्चित उपन्यास भएरै ११औँ संस्करण साझा प्रकाशनले प्रकाशित गरेको छ । प्रगतिशील साहित्य फाँटमा बेचिएकी चेली जस्तै यति धेरै संस्करण प्रकाशित हुने रचना कमै छन् ।
महान् जनयुद्धमा माओवादी नेता तथा कार्यकर्ता र जनताले त्याग, तपस्या र वलिदानका हजारौं कीर्तिमानहरू कायम गरेका छन् । ती कीर्तिमानहरू कायम गर्नेहरू मध्ये एउटी क्रान्तिकारी महिलाले आफू सैनिक हिरासतमा मृत्युको मुखमा पुग्दाको क्षणको आफ्नी आमालाई लेखेको चिठी हो यो ।
आमालाई चिठीको नायक नै मुना रहेकी छन् भने सहनायकको रुपमा अनुपम रहेका छन् । खलनायक फुलवारी व्यारेकको सैनिक प्रमुख रहेका छन् । यो चिठीको केन्द्र पोखराको फुलवारी व्यारेक रहे तापनि पूर्वको संखुवासभासम्मको भोटखोलादेखि हुम्लाको दार्मासम्मको भूभागमा पात्रहरु पुगेको पाइन्छ ।
महान् जनयुद्धमा त्याग,तपस्या र वलिदान गरेका केही व्यक्तिहरु नै शान्तिप्रक्रियापछिका वर्षहरूमा आर्थिकरुपमा भ्रष्ट, साँस्कृतिकरुपमा पतीत, विचलित र स्खलित भई दुर्गन्धित भएका छन् । उनीहरू व्यक्तिगत हित र स्वार्थ, पद, प्रतिष्ठा, लाभ र पैसाको निम्ति जस्तोसुकै अनुचित र घृणित कुकर्महरू गर्न अग्रपंक्तिमा देखा परेका छन् । सत्ताको आडमा राष्ट्रिय ढुकुटी ब्रह्मलुट गर्दै नवधनाढ्य वर्गमा रुपान्तरित भएका छन् । उनीहरूले आफूलाई क्रान्तिकारी भन्न अझै छोडेका छैनन् भने जीवन व्यवहारमा चाहिँ सामन्ती बुर्जुवा वर्गभन्दा पनि तल गिर्न पुगेका छन् । अब त उही पुरानो सामन्ती बुर्जुवा वर्गको संस्कार, संस्कृति, आचरण, आदर्श, आनीबानी, व्यवहार, जीवनशैली सबैमा रुपान्तरित भएका छन् । घुस, कमिसन, भ्रष्टाचार, बिचौलिया, तस्करी, यौन अनैतिक, पद र पैसामा लिप्त छन् । केहिँ खुल्ला केहिँ भित्रभित्रै स्खलित र दुर्गन्धित भएका छन् । केही त दोषी ठहरिएर जेलमा कोचिएका छन् ।
देशका एकातिर नोकरशाही, दलाल, पूँजीपति वर्ग लुटको स्वर्ग कायम राख्न लड्दै छन् भने अर्कातिर लाखौंलाख क्रान्तिकारी जनता मुक्तिको नयाँ दिनको खोजीमा लामवद्ध छन् भन्ने कुरा देखाइएको छ । चिठीमा मुनाले जुन लक्ष्य एवं उद्देश्यहरूका निम्ति जीवन उत्सर्ग गर्ने र नयाँ दिन ल्याउन दृढता र प्रतिवद्धता गरेकी छन्, त्यसले समाजवादको आधार खडा गर्न सहयोग गर्ने नै छ । शान्तिप्रक्रियापछि आफ्नो लक्ष्य एवं उद्देश्यहरूबाट विचलित, पतित, भ्रष्ट, स्खलित हुनेहरूका विरुद्ध पनि यो चिठी खडा भएको छ ।
साहित्यकार नेपालले आफ्नो चिठी साहित्य लेखनमा आमालाई चिठी नयाँ र फरक शैलीमा पस्कनुभएको छ । उहाँ देश, जनता, महान् जनयुद्ध र समाजवादी क्रान्तिप्रति निष्ठावान् एवं दृढ पक्षधर हुनुहुन्छ । उहाँले नेपाली प्रगतिवादी इतिहासमा १० वर्षे महान् जनयुद्ध कालखण्डमा व्यक्त नवीन यथार्थ सौन्दर्यका मूल्यमान्यता र आदर्शहरूमा रहेर लेख्नु भएको छ । यो चिठी साहित्य क्रान्तिप्रतिको निष्ठा र आशावादले भरिपूर्ण, सुन्दर र उत्कृष्ट कृतिका रुपमा अगाडि आएको छ । यस कृतिले जनयुद्धलाई स्थापित गर्दै त्यसैको जगमा समाजवादको आधार तयार गर्न आम जनतामा उत्साह, प्रेरणा र ऊर्जा पैदा गर्न महत्वपूर्ण योगदान पुर्याउने छ । विचारका दृष्टिमा “आमालाई चिठी” स्पष्ट र सशक्त छ । यसका क्रान्तिकारी पात्रहरू पुरानो र सडेगलेको व्यवस्थाको विरुद्ध खडा हुँदै नयाँ जनवाद–समाजवादपछि साम्यवादसम्मको मार्गचित्रमा प्रष्ट छन् । पुराना विचार भएका पात्रहरू पुरानै व्यवस्थाको ढाल बनेर उभिए तापनि क्रान्तिकारीहरूका अगाडि तिनीहरू फिका र निकै कमजोर देखिएका छन् । समाजवादी साहित्य फाँटमा उत्कृष्ट र सुन्दर कृतिका रुपमा यो “आमालाई चिठी” अगाडि आएको छ । अब जनताका माझमा क्रमश: स्थापित र चर्चित बन्दै जाने नै छ । यस चिठी साहित्य प्रगतिवादमा आधारित छ । यस चिठी साहित्यले प्रगतिवादी साहित्यकार केशव नेपालको क्रान्तिकारी साहित्यिक छवि र व्यक्तित्वलाई अझ उच्चरुपमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्