२०८१ मंसिर ८
                           

पूर्वाधार समितिद्वारा अरनिको लोकमार्गको अनुगमन, स्तरोन्नतिका लागि सरकारलाई लिखित निर्देशन दिइने

२४ असोज, सिन्धुपाल्चोक । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले संघीय राजधानी काठमाडौंलाई छिमेकी चीनसँग जोड्ने अरनिको लोकमार्ग अन्तरगत सम्पूर्ण भागको अनुगमन गरेको छ ।

काठमाडौंदेखि चीनसँगको सिमानाका लिपिङसम्म पुगेर आइतबार र सोमबार संसदीय समितिका ११ सांसदले सडकका विभिन्न खण्डको स्थलगत अनुगमन गरेका हुन् । अनुगमनका क्रममा विभिन्न स्थानमा सडकको अवस्था निकै नाजुक र जिर्ण पाइएको भन्दै समितिले सम्बद्ध पक्षलाई बैठकमा बोलाएर छलफल गर्ने एवं सरकारलाई लिखित निर्देशन दिने भएको छ ।

समितिका सदस्यहरुले लोकमार्ग अन्तरगत काभ्रेपलान्चोकको ‘धुलीखेल खावा’ खण्ड, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने कोठे पहिरो क्षेत्र, खाडीचौरमा मुआब्जा विवादले रोकिएको पक्कि पुल निर्माणको काम, जुरे पहिरो खण्ड, बाह्रबिसेको खागदल, भोटेकोशीको डाकलाङ, दश किलो, कोदारी र लिपिङ क्षेत्रको अनुगमन गरेको हो । समिति सदस्यहरुले नेपाल चीन सिमा नाकासम्म पुगेर सडक, अध्यागमन, भन्सार संरचनाको अवस्था पनि अवलोकन गरे ।


समितिका सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद माधव सापकोटाको प्रस्तावमा अनुगमनको कार्यक्रम तय भएको समितिले जनाएको छ । अनुगमन कार्यक्रमका संयोजक शंकर भण्डारीले संसद र समितिमा लोकमार्गका कठिनाई बारे पटक पटक विषय उठान भएपछि सापकोटाको प्रस्तावमा कार्यक्रम तय भएको बताए ।
सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाका सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधि, सडक विभागका प्रमुख तथा प्रतिनिधि, प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा समितिले अनुगमन र छलफल गरेको हो ।
सुरुमा काभ्रेको धुलीखेल खावा क्षेत्रको अनुगमन र सम्बद्ध सबैपक्षसँग छलफल गरेको समितिले दिउँसो सिन्धुपाल्चोकमा पर्ने सडक खण्डको अनुगमन गरेको थियो । अनुगमन र विस्तृत छलफलपछि समितिले २०८० चैतमा सम्पन्न भइसक्नुपर्ने धुलीखेल खावाको चार किलोमिटर सडक निर्माण पक्षले गरेको चरम लापरबाहीका कारण अझै अन्योलग्रस्त अवस्थामा रहेको एवं सडक प्रयोगकर्ताले पीडा भोग्नु परेको निष्कर्ष निकालेको छ । यस सम्बन्धमा समितिको बैठकमा थप छलफल गरेर सरकरालाई लिखित निर्देशन दिइने अनुगमनमा सहभागी समितिका सदस्य सांसद ठाकुर गैरेले जानकारी दिए ।
सडक अनुगमन पछि साँझ तातोपानी भन्सार कार्यालयमा भएको अन्तरक्रियामा समिति सदस्य सापकोटाले राष्ट्रिय महत्वको लोकमार्गको दुरावस्था र यसको स्तरोन्नतिको विषयमा संसद र समितिमा विषय उठान गरेको स्मरण यो विषयलाई प्राथमिकता दिएर अनुगमनमा आएका सदस्यहरुलाई धन्यवाद दिए । सांसद सापकोटाले यस बर्ष जुरे तातोपानी खण्ड स्तरोन्नतिका लागि १ अर्ब २३ करोड विनियोजन भएकोले सो बजेको सहि सदुपयोग गर्न अनुगमनले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समितिले सिन्धुपाल्चोकको जुरेदेखि तातोपानी नाकासम्मको सडक स्तरोन्नतिमा ढिलाई गर्दा सिन्धुपाल्चोकका जनतालाई मात्रै नभएर सिंगो राष्ट्र र अन्तराष्ट्रिय छवीमा समेत असर गर्ने निष्कर्षसहित यस विषयमा छलफल गर्न सम्बद्ध अधिकारीहरु डाकेर छलफल गरी लिखित सुझाव दिने बताएको छ ।
अनुगमन संयोजक भण्डारीले तातोपानी देशको महत्वपूर्ण नाका भएको बताउँदै सिमासम्म पुग्ने लोकमार्गको स्तरोन्नतिका लागि समितिमा गम्भीर छलफल गरी सम्बद्ध पक्षलाई लिखित निर्देशन दिने बताए । समिति सदस्य बिना लामाले अरनिको लोकमार्गको विभिन्न स्थानको अवस्था निकै कष्टप्रद पाइएको बताइन् ।
अनुगमनमा समिति सदस्यहरु माधव सापकोटा, ठाकुर गैरे, शंकर भण्डारी, बिना लामा, कल्पना चौधरी, दयालबहादुर शाही, मैना कार्की, लालबिर चौधरी, प्रतिमा गौतम र सुशीला श्रेष्ठ सहभागी थिए । यस्तै अनुगमनमा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, आयोजनाका निर्माण पक्ष, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
कुल १ सय १४ किलोमिटर लामो अरनिको लोकमार्गको ५७ किलोमिटर सिन्धुपाल्चोकमा र ५७ किलोमिटर काभ्रे र भक्तपुरमा पर्छ । २०७१ सालको जुरे पहिरो, २०७२ सातको महाभुकम्प र सो क्षेत्रमा पटक पटक गएको बाढी पहिरोका कारण सिन्धुपाल्चोकको जुरे लिपिङ खण्डको २६ किलोमिटर सडकको अवस्था जिर्ण अवस्थामा छ । धुलीखेल खावा खण्डको चार किलोमिटर बाटो पनि तीन बर्ष यता समस्याग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्