२६ कार्तिक, सिन्धुपाल्चोक। महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको चवालिसौँ कृति इतिहासमा सिन्धुपाल्चोक प्रकाशित भएको छ। न्यौपानेले आइतबार आफ्नो पछिल्लो कृति प्रकाशित भएको जानकारी दिए ।
उनले भने, “वि.सं. २०५२ मा सिन्धुपाल्चोक जिल्लाका ७९ गाविसमध्ये फुल्पिङकोटको परिचय ‘फुल्पिङकोट एक परिचय’ लेखेको थिएँ, २०६० मा जिल्लाको साहित्य, पत्रकारिता, कलाकारिता लगायतका विषयमा लेखेँ, यतिले मात्रै जिल्लाको इतिहास अधुरो महसुस भयो, र भूगोल, राजनीति, शैक्षिक, साहित्यिक, खेलकुद, कीर्तिमानलगायत थप विषय समेट्न अठोट गरेँ, यस ग्रन्थमा ती विषय समेट्ने प्रयास गरेको छु।”
यस पुस्तकमा ऐतिहासिक पृष्ठभूमि, भौगोलिक परिचय (पर्यटकीय स्थल, जलस्रोत, जलविद्युत्, नदी, कुण्ड, ताल, पोखरी र झरना), संस्कृति (जनसङ्ख्या, भाषा, धर्म, जातजाति), स्वास्थ्य, व्यापार व्यवसाय, खाद्यान्न बाली, वनसम्पदा, खनिज, यातायात, दैवीप्रकोप (२०८१ असोजसम्म), एनजिओ-आइएनजिओ-सहकारी, राजनीतिक खण्ड, संघीय तथा प्रादेशिक माननीयहरूको परिचय, स्थानीय निकायका प्रतिनिधिहरू, शिक्षा खण्ड, खेलकुद खण्ड, साहित्यिक खण्ड, पत्रकारिता खण्ड, कलाकारिता खण्ड, र जिल्लागत कीर्तिमान खण्डका विविध विषयमा विवरण प्रस्तुत गरिएको छ।
यस कृतिमा, राजनीतिक खण्ड अन्तर्गत सिन्धुपाल्चोकसँग सम्बन्धित राजामहाराजाहरूको इतिहासदेखि वर्तमानसम्मका राजनीतिक दलहरूको विवरण समेटिएको छ। काङ्ग्रेस, कम्युनिस्ट इतिहास, नेकपा विभिन्न धारहरू, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति, विप्लव समूह, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरू र नेताहरूको इतिहास विस्तारमा छ।
वि सं २०१५ देखि हालसम्मका संघीय तथा प्रादेशिक माननीयहरूको परिचय, स्थानीय निकाय, तहकाका प्रतिनिधिहरू, जनवर्गीय सङ्गठन, र गाउँ फर्क राष्ट्रिय अभियान जस्ता विषयवस्तुलाई समेत पुस्तकमा समावेश गरिएको छ। जिल्लाका ऐतिहासिक राजनीतिक घटनाक्रम र विविध क्षेत्रमा सक्रिय प्रमुख व्यक्तित्वहरूको योगदानलाई पनि समेटिएको छ।
सिन्धुपाल्चोकको शैक्षिक इतिहासमा यस पुस्तकले विद्यालय, गुरुकुल, कलेज र सिन्धुपाल्चोकबाट विद्यावारिधि गर्नेहरूको विस्तृत विवरण दिएको छ। खेलकुद र साहित्यिक खण्डमा दुई सयभन्दा बढी साहित्यकारहरूको परिचय, साहित्यिक तथा साँस्कृतिक संघसंस्था, नेपाली लेखक संघ, प्रगतिशील लेखक संघ, महत्त्वपूर्ण साहित्यिक कार्यक्रमहरू र जिल्लाका प्रमुख खेलाडीहरूको परिचय प्रस्तुत गरिएको छ।
पुस्तकमा पत्रकारिता खण्डमा सिन्धुपाल्चोकका एक सयभन्दा बढी पत्रकारहरूको परिचय र कलाकारिता खण्डमा कला क्षेत्रमा योगदान दिने प्रमुख कलाकारहरूको विवरण पनि समेटिएको छ। साथै, जिल्लाका १ सयभन्दा बढी कीर्तिमानी व्यक्तिहरूको संक्षिप्त विवरण र केही पुरातात्विक तस्बिरहरू पनि संग्रहित छन्।
पुस्तकमा २,८०० भन्दा बढी सिन्धुपाल्चोकेहरूको नाम समावेश छ, जुन जनसङ्ख्याको करिब १ प्रतिशत बराबर हो। ६०४ पृष्ठको यो पुस्तक लेखनमा विभिन्न कठिनाइहरू सामना गरे पनि प्रकाशित गर्न सफल भएकोमा उनले सन्तोष व्यक्त गरेका छन् ।
ग्रन्थमा भएका कमीकमजोरी र सुधारका लागि प्रबुद्धवर्गसँग सुझावको अपेक्षा राख्दै न्यौपानेले आगामी संस्करणमा थप सुधार गर्ने वचनबद्धता व्यक्त गरेका छन्। यो ग्रन्थले जिल्लाको बहुआयामिक पक्षलाई उजागर गर्दै सम्पूर्ण सिन्धुपाल्चोकको ऐतिहासिक तथा सांस्कृतिक दस्तावेजको रूपमा योगदान दिने अपेक्षा गरिएको छ। पुस्तक जिल्लावासी र इतिहासप्रेमीहरूका लागि महत्त्वपूर्ण दस्तावेज हुने र भविष्यमा सिन्धुपाल्चोकलाई बुझ्न एउटा महत्वपूर्ण स्रोतका रूपमा रहने विश्वास छ।
प्रतिक्रिया दिनुहोस्