केही वर्ष अगाडिसम्म बेलायतका गाउँ शहरमा पहेंलो टल्कने खालको झोलामा पत्रिका बोकेर घर–घरमा पैदल वा साइकलबाट पुर्याउने किशोर/किशोरी प्रशस्त देखिन्थे । १३ वर्ष उमेर पुगेपछि यस्ता काम गर्न पाइने हुँदा पकेट खर्चको लागि धेरैले बिहान बेलुकी विद्यालय जानुअगाडि–पछाडि पत्रिका बाँड्थे । पेपर ब्वायज/गर्ल्स भनेर चिनिने यो काम प्रायः धेरैले गर्थे । बिहान उठेर हिँडडुल वा कुकुर घुमाउने निहुँमा आफू पनि स्वस्थ बन्नेहरूले भने नजिकको पत्रिका पसलबाट पत्रिका हातमा बेरेर घर आउने चलन पनि छँदैछ । अनलाइन खबर पढ्ने बानी बसेपछि भने यी क्रियाकलाप धेरै कम भएका छन् । पुराना मानिसले बाहिर घुमफिर गर्न नसक्ने भए पनि घरैमा बसेर पत्रपत्रिका पढ्न छाडेका छैनन् । विशेषतः आइतबार विशेषांक प्रकाशन हुने भएकाले पत्रिका हातमा बोक्नेहरू अलि बढी बाटोमा देख्न सकिन्छ । अहिले पनि करिब १० लाख विभिन्न पत्रपत्रिका घर घरमा खस्ने गरेको अनुमान छ ।
पहिला रेष्टुरेण्ट चलाउँदा मैले पवनि नियमित पत्रिका किन्ने र अगाडि डेस्कमा राख्ने गर्थें । त्यतिबेला डेलीमेलको ४० पैसा अनि द सनको ३० पैसा थियो क्यारे ! तीन वर्ष विद्यालयमा काम गरें । त्यहाँ डेली मेल आउँथ्यो । पहिला मेरो हातमा पर्ने भएर सर्सर्ती पढ्थें । एक पानामा मुख्य–मुख्य खबर हुन्थे र मलाई दैनिक पाँच खबर लेख्न खुब मद्दत हुन्थ्यो ।
यहाँका मानिसले पढ्ने पत्रिकाबाटै उनीहरूको राजनीतिक झुकाव कता हो भन्ने अड्कल काट्न सकिन्छ । पत्रपत्रिकाले खुला रूपमा कुनै पार्टी विशेषको गुणगान नगाए पनि उनीहरूले प्रकाशन गर्ने सामग्रीको विषयवस्तुका आधारमा पक्षधरता थाहा हुन्छ । अहिले अस्तित्वमा रहेका राष्ट्रिय दैनिकमध्ये द डेली टेलिग्राफ, द टाइम्स, द सन, द डेली मेल, द डेली एक्सप्रेसले कञ्जरभेटिभको समर्थन गरेको देखिन्छ । त्यस्तै द गार्डियन, द डेली मिरर, द अब्जरभर्सले लेबर पार्टीको नीति मन पराएको पाइन्छ भने द इण्डिपेण्डेन्ट तथा द फाइनान्सियल टाइम्सले लिबरल डेमोक्रयाट समर्थन गरेको अवस्था छ । विशेष गरी आमनिर्वाचनमा पत्रपत्रिकाले प्रभावकारी भूमिका निर्वाह गरेको देखिन्छ । युरोपियन युनियन छाड्ने ब्रेकजिटको जनमत संग्रहमा द सन र डेली एक्सप्रेसले छुट्नेमा तथा गार्डियन र फाइन्यान्सियल टाइम्सले बस्नेमा निकै सक्रियता देखाएका थिए । अहिले स्थानीय र राष्ट्रिय स्तरमा करिब ८ सय पत्रपत्रिका छापिन्छन् । यसमध्ये १५ वटाजति मात्र राष्ट्रिय पत्रिका छन् ।
प्रमुख शहरहरूका रेल स्टेशन, सार्वजनिक स्थानमा केही निःशुल्क पत्रिका वितरण गरिन्छ । विशेषतः बेलुकी कामबाट घर फर्किंदा त्यस्तो पत्रिका पढ्ने चलन द इभिनिङ स्टयाण्डर्ड तथा मेट्रो अनि सि.टि.ए.एम. जस्ता पत्रिका निःशुल्क बाँड्न थालेपछि व्यापक भएको हो । स्थानीय रूपमा पनि निःशुल्क वितरण हुने केही पत्रिका थिए तर प्रायःजसो अनलाइनमा खबर पढिने भएपछि खर्च धान्न नसकेर बन्द भएका छन् । सन् १९९९ मार्च १६ देखि पहिलो पटक लण्डनमा मेट्रो पत्रिका वितरण गर्न थालिएको हो । त्यो विस्तारै अन्य ठूला शहर हुँदै देशभर पुग्यो । सन् २००८ सम्म आइपुग्दा झण्डै १५ लाख दैनिक कपी छापिने गथ्र्याे । अहिले पनि करिब १० लाख पत्रिका छापिन्छ । यसको अनलाइन प्रयोग गर्नेसहित झण्डै ५० लाखले दैनिक रूपमा मेट्रो पढ्ने गर्छन् । यो पत्रिका डेली मेल र जेनेरल ट्रष्टमार्फत सञ्चालन भएको छ ।
सन् १८२७ मे २१ देखि इभिनिङ स्ट्याण्डर्ड सात पैसा मूल्यमा बेच्न शुरु गरिएको थियो । त्यति बेलाको समाजमा यो मूल्य महँगो भएको कारण हुने खानेहरूले मात्र किनेर पढ्न सक्थे । सन् २००९ मा यो पत्रिकाको स्वामित्व रुसी नागरिक एभगेली लेभेडेभले १ पाउण्डमा प्राप्त गरेपछि निःशुल्क वितरण गर्न थालियो । यसले बोरिस जोन्सनलाई लण्डनको मेयरमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । पछि पूर्वअर्थमन्त्री जर्ज अस्बोर्न तथा पूर्व प्र.म. डेभिड क्यामरुनको साली एमोली सैफिल्डले यो पत्रिका प्रकाशनमा मुख्य भूमिका निर्वाह गरेबाट टोरी राजनीतिमा यसको प्रभाव गहिरो थियो भन्ने प्रमाणित हुन्छ । यसका साहुलाई बोरिसले प्रम हुँदा पियर्स (माथिल्लो सदनको सांसद) बनाएका थिए । कोभिड अगाडि लण्डनमा मात्र वितरण गरिने यो पत्रिका करिब ६ लाख छापिन्थ्यो । पछि संख्यामा ह्रास आएर २ लाख ५० हजार हाराहारीमा पुग्यो । यो कम्पनीले केही वर्षमा धेरै आर्थिक नोक्सानी सहन पर्यो । यस वर्षको शुरुदेखि मंगलबार र बिहीबार मात्र प्रकाशन गर्न थालेको यो पत्रिका सेप्टेम्बर २६ देखि प्रत्येक बिहीबार मात्र निस्कने गरेको छ ।
बेलायतीको इतिहासमा पत्रपत्रिकाको जन्म हुनुभन्दा अगाडि महत्वपूर्ण समाचार प्रदान गर्न लिफलेट वा कागजमा छोटा छोटा खबर लेखेर बाँड्ने चलन थियो । पहिलो पटक सन् १६६५ मा अक्सफोर्ड गजेट प्रकाशन भएको मानिन्छ । त्यसको ३७ वर्षपछि मात्र लण्डनबाट पहिलो पटक दैनिक पत्रिका सन् १८०२ देखि ‘द डेली रोकान्ट’ प्रकाशित हुन थाल्यो । त्यसपछि सन् १७५२ देखि १७९४ सम्म ‘द पब्लिक एडभरटाईज’ प्रकाशन भयो । सन् १७६९ देखि १८६२ सम्म प्रत्येक बिहान ‘द मर्निङ क्रोनिकल’ प्रकाशन भयो । सन् १८४२ मा पहिलो पटक साप्ताहिक रूपमा विस्तृत खालको सूचना दिने ‘द इलुस्ट्रेटेड लण्डन न्युज’ शुरु भएको थियो । अहिलेसम्म पनि प्रकाशन भइरहनेमध्ये सबैभन्दा पुरानो पत्रिका द डेली टेलिग्राफको शुरुवात भने सन् १८५५ मा भएको हो । शुरुमा दैनिक २५ हजार प्रति छापिएको यो पत्रिका शताब्दीको अन्त्यतिर आइपुग्दा दुई लाख पुग्यो । १९५०–६० को दशकमा आएपछि बढेर करिब १५ लाखसम्म पुगेको देखिन्छ । तर, सन् २००० देखि २०२० को आसपासमा नौ लाखमा झर्यो भने त्यसपछि त तीन लाख १७ हजारमा सीमित भयो । अहिले अनलाइनमा भने धेरै ग्राहक छन् ।
पत्रिकाको आकार तथा विशेषताको आधारमा ट्याब्लोइड र ब्रोडसिट्स बढी प्रचलनमा छन् । सानो पाना ११ बाइ १७ इञ्चको प्रायः मनोरञ्जन, अपराध, खेलकुद, स्क्याण्डललाई प्राथमिकता दिने रमाइलो शीर्षक राख्ने, फोटोहरू बढी राख्ने चलन द सन, द डेली मिरर, द डेली स्टारजस्ता ट्याबलोइड पत्रिकाहरू हुन् । बेलायत सरकारले छापा पत्रकारितामा पनि भ्याट छुट गरे पनि थियो तर अनलाइन पत्रिकामा भने यो सुविधा दिएको छैन । सन् २०२१ देखि भने कुनै पनि समाचार माध्यमलाई भ्याट नलाग्ने कानुन बनेको छ ।
सन् १५८६ मा स्टार चेम्सी (अहिलेको अदालतसमेत) ले पत्रिका प्रकाशनमाथि प्रतिबन्ध लगाएको थियो । यसरी बन्देज नलगाए जागरुकता आई विद्रोह हुन सक्छ भन्ने महारानी एलिजाबेथ पहिलोको आशंका थियो । सन् १६०५ मा जर्मनमा प्रकाशित भएको ‘रिलेशन’ लाई विश्वको पहिलो पत्रिका मान्ने गरिन्छ । यसैको प्रभावमा सन् १६२० मा पहिलो पटक अंग्रेजी भाषामा हल्याण्डको आमस्टड्यामबाट कोरान्टोसको प्रकाशन भएको हो । त्यसको एक वर्षपछि २४ सेप्टेम्बर १६२१ मा पहिलो पल्ट लण्डनबाट कोराण्टे प्रकाशन भयो तर यसलाई पत्रिकाचाहिँ भनिएन ।
संसारका अन्य देशमा जस्तै बेलायतमा पनि मिडिया मालिकले राजनीतिलगायत समाजका सबै क्षेत्रमा विशेष प्रभाव राख्ने गर्दछन् । छापा पत्रकारिताको माध्यमबाट बेलायतमा विशेष हलचल ल्याउने रूपर्ट मर्डकले न्यूज यूके कम्पनीमार्फत द टाइम्स, द सण्डे टाइम्स र द सन सञ्चालन गरिरहेका छन् । लण्डन स्टक एक्सचेन्जमा नाम भएको एच पि.एल.सि. ले द डेलीमिरर, द सण्डे मिरर, द डेली एक्सप्रेस र द स्टार सञ्चालन गर्दछ । त्यस्तै डेली मेल एण्ड जेनेरल ट्रष्ट (जिएमजी), टेलिग्राफ मिडिया ग्रुप फाइनान्सियल टाइम ग्रुप कम्पनी यस क्षेत्रमा सक्रिय छन् । सन् २०११ मा न्यूज अफ वल्र्डले सेलीब्रेटिजको फोन ह्याक गरेको घटनाले निकै ठूलो रूप लिएकोले १६८ वर्ष लामो इतिहास बोकेको पत्रिका बन्द हुन पुग्यो । त्यसमाथि विशेष छानबिन गर्न पूर्वन्यायाधीश लेभेसनको नेतृत्वमा समिति बन्यो । केही जिम्मेवार व्यक्ति पक्राउ परे । उनको सिफारिसअनुसार इण्डेपेण्डेण्ट प्रेस स्ट्याण्डर्डस अर्गनाइजेशनको जन्म २०१४ मा भयो । यसले बेलायको पत्रपत्रिका उद्योगलाई जवाफदेही बनाउने र पत्रिकारितामा नैतिक मापदण्ड कायम राख्ने सन्दर्भमा ठूलो भूमिका निर्वाह गरिरहेको छ ।
(साभार:जनआस्था-साप्ताहिकबाट)
प्रतिक्रिया दिनुहोस्