२०८१ पुष ८
                           

सहकारी समाजवादको आधारशीला हो: सांसद सापकोटा

२२ मंसिर, सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले सहकारीलाई समाजवादको आधारशीला भएको बताएका छन्। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. २ स्थित ब्रम्हायणी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको रूपमा बोल्दै सांसद सापकोटाले सहकारी संस्थाको भूमिकालाई उच्च मूल्यांकन गरेका हुन्।
सांसद सापकोटाले कतिपय सहकारी संस्थाहरूले आर्थिक अनियमितता गरेका घटनाहरूको स्मरण गर्दै ब्रम्हायणी साना किसान सहकारीले किसान र कृषिलाई प्राथमिकता दिँदै आएकोमा खुसी व्यक्त गरे। उनले भने, “सुकुटे पर्यटकीय क्षेत्रसँग नजिक यहाँ उत्पादन भएको वस्तुको बजारीकरण गर्न सहज छ, सहकारीले किसानलाई बलियो बनाउन अझ प्रभावकारी भूमिका खेल्न सक्छ।”
सांसद सापकोटाले आफू पनि ब्रम्हायणी साना किसान कृषि सहकारी संस्थाको शेयर सदस्य बन्ने घोषणा गरे । उनले संसदमा किसान र सर्वसाधारण जनताको आवाज निरन्तर उठाइरहेको र आगामी दिनमा पनि उठाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले सहकारीको महत्वलाई उजागर गर्दै संस्थासम्म पुग्ने सडक ढलान गर्ने र “एक वडा, एक उत्पादन” कार्यक्रमअन्तर्गत वडा नं. २ लाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वडा नं २ का अध्यक्ष छविलाल न्यौपाने, सहकारीका अध्यक्ष राज कुमार श्रेष्ठ, ( फोन मार्फत) सम्बोधन गरेका थिए । बलेफी गाउँपालिका क्षेत्रमा कार्यक्षेत्र रहेको सहकारीका कार्यबाहक अध्यक्ष पदमबहादुर भण्डारी, सचिव कृष्ण पौडेल, लेखा परिक्षण समितिका संयोजक राजेन्द्र कुमार भण्डारी, कोषाध्यक्ष राजकुमार भण्डारीलगायतले फरक फरक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्