२२ मंसिर, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ टेकानपुरस्थित दावी खोलामा निर्माणाधीन पुल उद्घाटन गर्न पुगेका कांग्रेस नेता मोहन बस्नेतको स्थानीयले विरोध गरेका छन्। बस्नेतविरुद्ध स्थानीयहरूले नाराबाजी गर्दै पुल उद्घाटनलाई अवरोध गरेका थिए।
जुरे पहिरोपछि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको सो क्षेत्रमा बागमती प्रदेश सरकारको बजेटबाट पुल निर्माण भइरहेको छ। यो योजना पूर्व सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन मन्त्री अरुण नेपालको पहलमा सुरु गरिएको थियो। स्थानीयहरूका अनुसार निर्माण कार्यमा लागेका श्रमिकहरूले पारिश्रमिकसमेत नपाएको गुनासो छ।
स्थानीयहरूले निर्माण सम्पन्न नहुँदै पुल उद्घाटन गर्न हतारो देखाएका नेता बस्नेतको कार्यप्रति आक्रोश व्यक्त गरेका छन्। विरोध प्रदर्शनका क्रममा नाराबाजी भएपछि बस्नेतले ठूलो संख्यामा प्रहरी बल ल्याएर दबाब दिने प्रयास गरेको स्थानीयहरूको आरोप छ। कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री भएकाले सरकारी शक्ति दुरुपयोग गरिएको भन्दै स्थानीयहरूले असन्तोष व्यक्त गरेका छन्। स्थानीयको उपस्थिति बिना बाहिरी व्यक्तिहरू बोलाएर बन्दै गरेको पुलको उद्घाटन गरेका बस्नेत तत्काल क्षेत्र छाड्न बाध्य भएका थिए। सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट संघीय सांसद रहेका बस्नेतले क्षेत्र नं. १ मा सक्रियता देखाउने प्रयासलाई कांग्रेस नेताहरूले अनावश्यक हस्तक्षेपका रूपमा चित्रण गरेका छन्।
पालुवाबाट
प्रतिक्रिया दिनुहोस्