नरेन्द्रजंग पिटर -भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण, शेरा दरबार जग्गा प्रकरणले कांग्रेस, एमाले र माओवादी विश्वासको कठघरामा छन् । भ्रष्टतन्त्र राष्ट्रिय आदर्श र चरित्र बन्न पुग्यो । तर, नेताहरू निष्कलंकित प्रमाणित हुन कानुनलाई सहयोग गरिरहेका देखिँदैनन् । कार्यकर्ताहरू नेतृत्वको रक्षामा उत्रिएका छन् ।
आदर्शको आवरणले नियत लुकाउन सक्दैन । सिद्धान्तलाई प्रतिक्रिया वा सुविधाअनुसार व्याख्या र व्यवहार गर्न सक्रिय भएपछि राजनीतिक दलहरू ‘ट्रेडमार्क’ जस्तै भइसके । के अब कांग्रेस, एमाले र माओवादी इतिहासका पानामा प्रजा परिषद्जस्तो बन्ने हुन् ? या हिजोको जस्तै मौलिक भूमिकामै रहनेछन् ? प्रश्न उठ्दैछन् । दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त र गंगालालजस्ता शहीदको सालिकमाथि राजा विराजमान भएजस्तै पार्टी नेतृत्वमाथि चतुरेहरूको हालीमुहाली हुने नै हो त ? के सिद्धान्तको अन्त्य भएकै हो ?
सबै दलमा आफ्नो समयका क्रान्तिकारीहरूले गरिमा बढाए । सपना र आदर्श रोपे । त्यही पुस्ता अहिले पनि नेतृत्वमा छ । तब प्रश्न उठ्छ– कुन हुटहुटीले मानिस क्रान्तिकारी बन्छ ? आन्दोलनमा किन सामेल हुन्छ ? किन खतरा मोल्छ ? अनि किन विचार र आदर्श त्याग्छ ? त्यागेर पनि आफ्नो पहिलाको परिचय भने किन त्याग्दैन ? विश्वासको संकट किन जन्मिन्छ ? आवेगले हाँकिएका सिद्धान्तहीन पार्टीका पछि मतदाता किन लाग्छन् ? आदर्शका कलमहरू चाकरमा किन फेरिन्छन् ?
विश्वासको संकट झेलेका शक्ति र सत्तालाई ‘न्यारेटिभ’ फेर्ने तर्कवाज चाकरहरू चाहिन्छ । भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण, मीनभवनको जिन्सी घुस प्रकरण, डा. भीम रावल र विन्दा पाण्डेको कारबाही र शेरा दरबार जग्गा प्रकरणको ‘न्यारेटिभ’ फेर्ने तिनै तर्कवाज मिडियामा देखापरिरहेका छन् ।
चतुरे चिन्तन भनेको ‘चइजम’ अथवा शक्तिको हितअनुकूलको भाष्य सिर्जना गरेर चाकरी बजार्नु हो । यो उपभोक्तावादको चरम रसवादी दर्शन हो । यसको योग्यतामा गौरवमय क्षणमा हासिल गरिएका हैसियत नजिर बनाइन्छ । शक्तिलाई विश्वस्त बनाउन सक्नु नै ‘आर्ट अफ चइजम’ हो । प्रशिक्षण र प्रयोगशालाको मुख्य केन्द्र सिंहदरबार हो । त्यहाँ कसरी भावनामा बहकाउने, लोभको पासो थाप्ने, शक्ति र सामर्थ्य गुम्ने डर सिर्जना गर्ने अनि शक्ति केन्द्रलाई नाङ्गो बनाएर ‘ब्ल्याकमेल’ गर्ने रणनीतिक अभ्यासबाट सिकेका हुन्छन् ।
सिंहदरबारले राणा र शाहहरूलाई मात्रै होइन, नौरङ्गी शासक बनेका मनुवाहरूलाई पनि स्वागत गर्दै अपराधी बनाएर, आदर्श र व्यक्तित्व ध्वस्त पारेर फालिदिने काम गर्छ । कलश थापेर स्वागत गर्ने सिंहदरबारले बिदाइमा समवेदनासमेत दिँदैन ।
शक्ति आर्जन र सुरक्षित पार्न मनोवैज्ञानिक अस्त्र, वासनाका ग्रन्थी रसाएर आदर्श र सिद्धान्तका जामा लगाइदिएपछि ‘आदर्श भनेको कमजोरहरूको छद्म कवच हो’ भन्ने भाष्य तयार गरिन्छ । सफलताको पिरामिड चढ्ने तर्क उत्पादन गर्न थालिन्छ । कसैलाई ध्वस्त र निकम्मा बनाइदिनु छ भने सिंहदरबारभित्र हुल्दिए पुग्छ । त्यहाँ छिर्नेहरू केहीमात्र बेदाग निस्केका छन् । सिंहदरबारबाहिर पनि धेरै सिंहदरबारहरू हुन्छन् ।
चतुरेहरू ‘चइजम’ का व्यावहारिक प्रयोगकर्ता हुन् । समयको नाडी छाम्न सिपालु भएर कुन बेला कुन गुट हावी छ ? कुन शक्ति केन्द्र प्रवल हुँदै छ ? यस्ता तथ्यहरूको सूक्ष्म विश्लेषण गरी योजना बनाउँछन् । शक्ति केन्द्रलाई भावनात्मक, आर्थिक र सामाजिक रूपमा कमजोर बनाउँदै स्वार्थसिद्ध गर्छन् ।
चुनावका बेला वा पार्टीभित्र रडाको मच्चिँदा मात्रै चतुरेहरूको तमासा छर्लङ्ग देख्न सकिन्छ । कुनै निश्चित पक्षमा अडिग हुँदैनन् । समयको नाडी छामेर मौकामा चौका हान्ने, पक्ष बदल्ने चतुरेहरू जहाज डुब्न लाग्दा भने मुसाले जहाज छोडेझैँ शक्ति केन्द्र पनि फेर्ने गर्छन् ।
चतुरे प्रवृत्तिको मनोवैज्ञानिक, सांस्कृतिक र संरचनात्मक विश्लेषण गर्दा यसले शक्ति, स्वार्थ र चतुर्याइँको खेलले राजनीति र समाजमा पारेको प्रभावमाथि गम्भीर प्रश्न खडा गरेको छ । मुख्य रूपमा भन्न सकिन्छ– चतुरे प्रवृत्तिको उदयले राजनीतिको शक्ति केन्द्रमा चतुरेहरूको स्थान बलियो हुँदै गयो । व्यावहारिकता र स्वार्थलाई मूलमन्त्र मान्दै आदर्श र नैतिकतालाई पन्छाउँदा शक्तिमा हावी भए ।
शक्ति चञ्चल हुने हुँदा समीकरण मिलाउन क्यालकुलेटर खेल चलिरहन्छ । नेतृत्वका कमीकमजोरीहरू पत्ता लगाएर, भावनालाई उरालेर र लोभमा फसाएर शक्ति केन्द्रलाई नियन्त्रणमा राख्न कोटरीमा एकपटक भित्रिएका चतुरेहरूले शक्तिलाई ब्ल्याकमेल गरेर सधैँ फाइदा लिने गर्छन् ।
राजनीतिका चतुरेहरू र मण्डीका दलाल व्यापारीहरू उस्तै हुन्– लगानीबिनाको नाफा कमाउने परजीवी । भूमिका र चरित्र अनेकौँ शब्दले स्तर तय गर्छन् । दलाल, एजेन्ट, मध्यस्थ, लविइस्ट, दूत आदिका रूपमा नेताहरूलाई प्रयोग गर्छन् । शक्ति, पैसा र प्रभावबाट फाइदा उठाउन समयसँगै भूमिका फेर्छन् ।
राजनीतिका चतुरेहरू र मण्डीका दलाल व्यापारीहरू उस्तै हुन्– लगानीबिनाको नाफा कमाउने परजीवी । भूमिका र चरित्र अनेकौँ शब्दले स्तर तय गर्छन् । दलाल, एजेन्ट, मध्यस्थ, लविइस्ट, दूत आदिका रूपमा नेताहरूलाई प्रयोग गर्छन् । शक्ति, पैसा र प्रभावबाट फाइदा उठाउन समयसँगै भूमिका फेर्छन् । शक्ति सन्तुलनको गुट खेलमार्फत ठूलो नेता बन्ने दीर्घकालीन रणनीति बन्छ । त्यसैले पार्टीमा वास्तविक कार्यकर्ताभन्दा चतुरेहरू बलियो बन्ने गर्छन् ।
यस्तो दुर्दशा भइरहँदा पनि ‘तँ के गर्दै थिइस्’ भनेर आँउदो पुस्ताले समाज, सत्ता, पार्टी, नेतृत्व, कार्यकर्ता र बुद्धिजीवीसामु एकैपटक अनेकौँ प्रश्न र जिज्ञासा राख्न सक्छन् । अझ विद्वत् वर्गले नै शक्तिको चाकरी गर्दा वा पलायन हुँदा समाज र राज्यलाई नैतिकता र न्यायको मार्गदर्शन खडेरी पर्न सक्छ । बुद्धिजीवी तप्का नै शक्ति र सत्ताको गुलामी गर्न थाल्दा अन्योल सुरु हुन्छ । सत्य र न्यायलाई प्राथमिकता दिनुको सट्टा अन्याय, भ्रष्टाचार र स्वार्थी प्रवृत्तिहरूलाई सलाम ठोक्न थाले सोचका कारखाना नै ध्वस्त हुन्छन् ।
बुद्धिको लिलामी गरेर ऐश्वर्य भोग गर्ने समाजमा नैतिक पुँजी घट्दै जाँदा सत्ताको हरेक कदमलाई औचित्यको तर्क दिँदा सत्ता दुरुपयोगले वैधता पाँउछ । कमजोर तप्का थप शोषित र पीडित बन्दा सामाजिक न्यायलाई बेवास्ता गर्दा विभाजन, असमानता र द्वन्द्वको बिऊ हलक्क बढेर वीषवृक्ष बन्न सक्छ । त्यस्तो बौद्धिकता समाजका लागि उपयोगी हुँदैन । यसले अनुसन्धान, विकास र सृजनशीलतालाई रोक्छ । सत्ताको पक्षपोषण गर्न केन्द्रित भएमा उनीहरू जनताको आवाजलाई बेवास्ता गर्न पुग्छन् । यसले लोकतन्त्रलाई कमजोर बनाएर अधिनायकवादलाई बल दिन्छ ।
अझ चाकरतन्त्रले शासकलाई प्रभाव पार्दा निक्लने परिणाम भनेको ‘चइजम’ (चाप्लुसी र चम्चागिरीमा आधारित व्यवस्थापन) ले प्रायः नकारात्मक भावना सिर्जना हुन्छ । यसले शासकको निर्णय क्षमतादेखि शासन व्यवस्थासम्म अछुतो रहन सक्दैन ।
चाकरतन्त्रमा शासकलाई सधैँ मीठा कुरा मात्र सुनाइन्छ । यसले गर्दा शासकहरूलाई वास्तविक स्थिति थाहा हुँदैन । सत्य सूचना नपाएपछि गलत निर्णयको बन्दी देश र पार्टी बन्न पुग्छ । प्रशंसा गरेर नेतृत्वलाई अति–आत्मविश्वासी बनाउँदा असफलता सँघारमै आउँदा पनि यथार्थ अवस्था थाहै पाउँदैन । योग्य र इमानदार व्यक्तिहरूलाई पछि पारेर आफैँलाई वा आफ्ना निकटकाहरूलाई सत्तामा ल्याउन खोजिँदा नेतृत्व क्षमतामा गिरावट ल्याएको कुरा नेताहरूले थाहै पाउँदैनन् ।
शक्ति र स्रोतहरूको दुरुपयोगलाई प्रोत्साहित गरेर आफ्नो स्वार्थ पूरा गर्न भ्रष्टाचारी बन्नुपहिला नेतृत्वलाई भ्रष्टाचारी र परिवारवादमा फसाउँछ । शक्तिको नसा रक्सी, अफिम र धर्मको भन्दा पनि कडा र अन्धता भएकाले जनताको असन्तोष र वास्तविक समस्याहरू बेवास्ता गर्न पुग्छ । नेतृत्व चाकरहरूका प्रभावमा रहेर सत्तामा रमाउँदा जनता र कार्यकर्ताका आवाज दबिन्छन्, तब अस्थिरता निम्तिन्छ । स्वार्थको घेराबन्दीका कारण नेतृत्व पतनका कारण वास्तविकता र कार्यकर्ताका भावनाबाट टाढिँदा अन्ततः समर्थन गुमाएर नेतृत्वको पतन हुन्छ । सल्लाहकार चाकरमा फेरिएपछि नीतिहरू त्रुटिमा स्वार्थ पूरा गर्न गलत र अल्पकालीन सिफारिस हुँदा देश र पार्टीको दीर्घकालीन हित नेतृत्वले बुझ्नै सक्दैन । रचनात्मक आलोचनाको समाप्ति भएपछि नेतृत्वलाई आलोचना नगर्ने र केवल समर्थन गर्ने वातावरण बनेर नेतृत्व कुन बेला प्राविधिक मात्रै नेतृत्व रहेको पत्तै पाउँदैन । थाहा पाउने बेलासम्म समय घर्किसकेको हुन्छ ।
अन्त्यमा, घटनाले संकेत मात्रै दिँदैन, सन्देश पनि दिइरहेको हुन्छ । दोहोर्याउनै परेन– संकेतले चेत्ने नै मान्छे हुन्छ । चाकरतन्त्रले नेतृत्वलाई भ्रममा पारेर उनीहरूको नेतृत्व क्षमता कमजोर बनाउँछ । यसले केवल व्यक्तिगत मात्र नभई संस्थागत रूपमा पनि नकारात्मक प्रभाव पार्छ ।
राजनीतिको व्यवसायीकरण, नैतिक पतन र चतुरेहरूको उदयले समाजलाई गम्भीर क्षति पुर्याउने हुँदा आदर्श र सिद्धान्तको पुनर्स्थापना गरेर मात्र समाजले यस्तो प्रवृत्तिलाई निरुत्साहित बनाउन सक्छ । हाम्रो राजनीतिमा चतुरे प्रवृत्तिको अन्त्य र सिद्धान्तको पुनरुत्थानका लागि कार्यकर्ताहरूको जागरूकता, सचेत नेतृत्व र आदर्शवादी दृष्टिकोण आवश्यक छ । कतै यसमा खडेरी त परेको होइन ?
प्रतिक्रिया दिनुहोस्