२०८१ माघ २३
                           

लिस्तिकोट दुगुना गढी माउन्ट ट्रेल रेस हुने

सिन्धुपाल्चोक । इन्द्रध्वज गणको आयोजना र भोटेकोशी गाउँपालिकाको सहयोगमा पाँचौ लिस्तिकोट दुगुना गढी माउन्ट ट्रेल रेस २०८१ हुने भएको छ । प्रतियोगिताको बारेमा शनिबार गणको कार्यालय चौतारामा पत्रकार भेटघाटमा उक्त कुरा सार्वजनिक गरेको हो । लिस्तिकोट दुगुना गढी ट्रेल रेस पाँचौ संस्करणको रुपमा जिल्लाको ऐतिहासिक स्थलहरुको पहिचान दिलाउन, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने ध्येयले दौड गरिने भएको हो ।

साहसिक खेलकुदको बिकास तथा सैनिक नागरिकको सम्वन्धलाई प्रगाढ बनाउने उद्देश्यले माघ २६ गते भोटेकोशी गाउपालिका ३ ड्राइ पोट देखि लिस्तिकोट हुँदै दुगुन गढीसम्म २४ दशमलब ५ किलोमिटर दौड प्रतियोगिता हुने इन्द्रध्वज गणले जनाएको छ । पछिल्लो समय सवारी मार्गहरूको विकास भएपछि पदमार्गलाई जीवित राख्न यसलाई निरन्तरता दिएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा खेलाडी वृद्धि हुने अनुमान गरिएको गणका खेल संयोजक सेनानी अनिल कुमार बस्नेतले बताए ।

अल्ट्रा म्याराथन २४ .५ लम्बाइ रहेको दौडको लागि माघ १५ गते सम्म सहभागीले नाम दर्ता गराउनुपर्नेछ । नाम दर्ता इमेल तथा फोनबाट पनि गर्न सकिनेछ । प्रतियोगितामा खुला तर्फ पहिलो हुनेले १ लाख १० हजार दोस्रो हुनेले ७५ हजार र त्यस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथम ७० हजार, दोस्रो ५० हजार र तेस्रोले ३० हजार पाउनेछन् ।

भोटेकोशी गाउँपालिका बासीतर्फ पहिलो ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।प्रतियोगितामा भाग लिने प्रत्येक खेलाडीको लागि दौड अवधि भरको लागि ५ लाख बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको इन्द्र ध्वजका सेनानी बस्नेतले जानकारी गराए ।उक्त ट्रेल रेस प्रतियोगिता २०७७ फागुन २४ गतेबाट सुरुवात गरिएको हो । उक्त स्थानमा प्रत्येक वर्ष पर्यटन प्रवद्र्धन र ऐतिहासिक चिनारीका लागि दौड प्रतियोगिता हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्