२०८१ माघ २
                           

चौतारा साँगाचोक गढी नगरपालिका १७ औं नगरसभा सम्पन्न, ९ करोड बढी राजश्व संकलन

चौतारा साँगाचोक गढी नगरपालिका १७ औं नगरसभा नगरप्रमुख कृष्ण प्रसाद सापकोटा देशबन्धुको सभाध्यक्षतामा सम्पन्न भएको छ । नगरसभामा नगरपालिकाको आ.व. २०१/८२ को श्रावण १ देखि पुष २५ गते सम्मको संक्षिप्त विवरण उप प्रमुख सिता थापाले प्रस्तुत गरेकी हुन । नगरपालिकाले सुशासन तथा सार्वजनिक सेवा प्रवाह, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, लक्षित वर्ग , पशु सेवा, सूचना प्रविधि तथा संचार, उद्यम विकास, भौतिक पूर्वाधार ,खानेपानी तथा सरसफाई ,योजना तथा कार्यक्रम र कृषि विकास तर्फको प्रगति विवरण सार्वजनिक गरेको छ ।

नगरपालिकाले वित्तीय प्रगति तर्फ चालु आ.व.२०८१/८२ मा १ अर्ब ३२ करोड ४६ लाख ८६ हजार कुल बजेटमा ३१ करोड १७ लाख ६५ हजार खर्च भएको जनाएको छ । जुन कुल बजेटको २३.५३ प्रतिशत हो । यस्तै पुँजीगत तर्फ ३७ करोड ४४ लाख ८१ हजार ६ सय पचास रहेकोमा  ५ करोड २१ लाख ५० हजार ५ सय ५९ रुपैँया खर्च भएको छ । जुन कुल पुँजीगत बजेटको १३.९२% हुन आउँछ ।

चालु तर्फ  ९५ करोड दुई लाख ४ हजार सात सय ६० रुपैयाँ विनियोजन भएकोमा  २५ करोड ९६ लाख १४ हजार ८ सय ५३ रुपैंया खर्च भएको छ । जुन कुल चालू बजेटको २७.३२% हो । यस्तै राजश्व तर्फ नगरपालिकाको आन्तरीक आय अन्तर्गत दहत्तर बहत्तर तर्फ चालू आर्थिक वर्षमा कुल जम्मा  ९ करोड २८ लाख ९१ हजार चार सय एघार रुपैंया दुई पैसा राजश्व संकलन भएको प्रगती प्रतिवेदनमा उल्लेख छ ।

सुशासन तथा सार्वजनिक सेवा प्रवाह तर्फ कार्यालयबाट सम्पादन हुने कार्यलाई ऐन, नियमावली, निर्देशिका, नीति तथा कार्यविधिहरु निर्माण गरी कार्यान्वयनमा ल्याइएको उल्लेख छ । खरिद तथा विक्री सम्बन्धी कार्यहरु सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम विद्युतिय बोलपत्र, सिलबन्दी दरभाउ पत्र लगायतका माध्यमबाट गरिँदै आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको १४ वटै वडामा रहेको जग्गाहरुको नगर स्तरीय भू–उपयोग परिषद्बाट कृषि योग्य र गैर कृषि योग्य जग्गामा वर्गीकरण गरी  गैर कृषि योग्य क्षेत्रमा रहेका जग्गाहरुलाई समेत विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको उल्लेख छ ।

यस्तै स्वास्थ्य तर्फ वडाहरुमा ४३ वटा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण केन्द्रबाट ४ हजार ८ सय ४५ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । साथै २ वर्ष मुनिका बालबालिकाहरुको पोषण स्वास्थ्य सुदृढीकरण तथा सुधार गर्ने उद्देश्यका साथ प्रत्येक वडाहरुको ३१ वटा वृद्धि अनुगमन केन्द्र संचालन गरी पोषण सम्बन्धी परामर्श दिने गरिएको छ ।

पहिलो चरणको राष्ट्रिय भिटामिन “ए” कार्यक्रम संचालन गरिएको छ । जसमा ६ देखि ११ महिनाको २१३ बालबालिकाहरु र १२ देखि ६० महिनाका २,३२० बालबालिकाहरुलाई भिटामिन “ए” खुवाएको १२ देखि २३ महिनाका ५२४ जना बालबालिकाहरु र २४ देखि ६० महिनाका १,७९६ बालबालिकाल जुकाको औषधी खुवाइएको र २१३ जना बालबालिकाहरुलाई बालभिटा वितरण  भए। नगरपालिका भित्रका २१४ जना बालबालिकाहरुलाई पूर्ण खोप प्रदान गरिएको छ ।

लक्षित वर्ग तर्फ  सिंचाई तथा पोखरी निर्माण कार्यक्रम संचालनको लागी  लक्षित समुहहरुबाट माग संकलन माग संकलन गरी छनौटको लागि अनुगमन भइरहेको छ । पकेट विकास प्रवद्र्धन फलोअप कार्यक्रम तर्फ कार्यक्रम छनौटका लागि गत आ.व. २०८०/०८१ मा स्थापना भएका पकेट क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन भइरहेको बताएको छ ।रैथाने बाली प्रवद्र्धन कार्यक्रम र नयाँ च्याउ पकेट विकास कार्यक्रम संचालनका लागि लक्षित समूहहरुबाट माग संकलन भईरहेको छ ।

पशु सेवा तर्फ विभिन्न घाँस तथा डाले घाँसको विउ , विरुवा वितरण कार्यक्रम नगरपालिकाले  गरिएको छ । नगरपालिकाले डिस्पेन्सरी शाखा चौतारा र पशु सेवा केन्द्र जल्केनीबाट पशुपन्छी उपचार सेवा निरन्तर रुपमा प्रदान गरिएको छ ।

सूचना प्रविधि तथा संचार तर्फ नगरपालिकाको उन्नति विवरण झल्काउने स्थानीय तह संस्थागत क्षमता स्वः मुल्याङ्कन र स्थानीय तह वित्तिय ’सुशासन जोखिम मुल्याङ्कनको काम द्रुत गतिमा भइरहेको छ । नगरपालिकाबाट प्रकाशन हुने सम्पूर्ण सूचना लगायतका विभिन्न कागजातहरु नगरपालिकाको आधिकारीक वेवसाईट र फेसबुक पेजमा नियमित रुपमा अद्यावधिक गरिएको छ ।

उद्यम तर्फ भिमटार, रानीटार, देउराली, स्याउले र ठूलोसिरुवारीका उद्यमीहरुको व्यवसायिक अवस्थाको अवलोकन तथा अनुगमन गरी व्यवसायिक परामर्श दिइएको छ । नगरपालिकाले वडा नं. १४ को एकीकृत माझी बस्ती र वडा नं. ११, भिमटारमा माझी बस्ती आसपासका बगरमा खरबुजा खेतीका गर्न बगर खेती अनुसान्धान कार्यक्रम सुरु गरिएको उल्लेख छ ।

यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मेलचौरमा सहिद स्मृति आवासीय बालग्राम स्थापना गरी नगरभित्रका २० जना अनाथ, द्धन्द प्रभावित तथा अति विपन्न बालबालिकाहरुलाई आवासिय सुविधा सहित अध्ययनको व्यवस्था मिलाइएको छ ।

अन्तराष्ट्रिय साक्षारता दिवस भव्य रुपमा मनाँउदै सो अवसरमा उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको छ । नगरपालिकाको नगर गौरवको योजनाको रुपमा रहेको वडा नं. ४ स्थित कुविण्डेमा एउटा शित भण्डार निर्माण कार्य भैरहेको छ । साथै वडा नं. ६ मा रहेको बुद्धपार्कको बाँकी रहेको कार्य भैरहेको छ । विभिन्न सामुदायिक भवन, महिला भवन, ट्रस भवन गरी जम्मा १४ वटा भवनको निर्माण तथा मर्मत कार्य गरिएको छ । यसैगरी २ वटा मन्दिर मर्मत तथा निर्माण कार्य सम्पन्न भएको छ ।

कृषि विकास तर्फ माटो परीक्षण घुम्ती शिविर कार्यक्रम तर्फ  कृषकहरुबाट माटोको नमूना संकलन भईरहेको छ । कम्बाईन डिक्स मिल वितरण कार्यक्रम र स्प्रेयर वितरण अनुदान कार्यक्रम संचालनको लागि  कृषक समूह-सहकारी फर्महरुबाट माग संकलन भई छनौट प्रकृयामा रहेको छ। प्लाष्टिक पोखरी निर्माण अनुदान तर्फ कृषक समूह-कृषि सहकारी, व्यवसायिक फर्महरुबाट माग संकलन  भई छनौट गर्नका लागि अनुगमन कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्