कोरोना भाइरस (कोभिड–१९) ले मूलुकलाई आक्रान्त बनाईरहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सम्भावित संक्रमण नियन्त्रणका लागि लकडाउनको पालना गर्न नागरिहहरुलाई अपिल गरेका छन् ।
आज अपिल–पत्र जारी गर्दै सभामुख सापकोटाले भाइरसको संक्रमण भयावह हुन नदिन लकडाउनको पालना गरी घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन अपिल गरेका हुन् । ‘सरकारका तर्फबाट रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न प्रयास भइरहेका छन् । अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रबन्ध भइरहेको छ’, अपिल–पत्रमा भनिएको छ– ‘विभिन्न मित्रराष्ट्रले सहयोग गरिरहेका छन् । देश भित्रका व्यवसायिक प्रतिष्ठानले संस्थागत एवं व्यक्तिगत स्तरमा तथा देशबाहिर रहेको नेपाली समुदायले पनि स्वास्थ्य सामग्री उपलब्ध गराउन थाल्नुभएको छ । म यो कार्यको सह्रानगर्दै थप सहयोग परिचालनको आह्वान पनि गर्छु ।’
प्रतिनिधि सभाको २०७६ फागुन २३ गतेको बैठकले कोरोना विरुद्ध राष्ट्रिय संकल्पका साथ अगाढि बढ्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको उल्लेख गर्दै सापकोटाले थप पहलकदमीका लागि संघीय संसद सदैब तयार रहेको बताएका छन् । उनले विपद्को सामना गर्न आ–आफ्नो ठाउँबाट पहल जारी राख्न सम्पूर्ण माननीय सदस्यहरुलाई आह्वान समेत गरेका छन् ।
सरकारले विभिन्न क्षेत्रलाई सम्बोधनगर्दै आर्थिक राहत तथा सहुलियतका कार्यक्रम अघि सारेको जनाउँदै यसको कार्यान्वयनका लागि सबैको साथ आवश्यक रहेको सभामुख सापकोटाको भनाई छ । दैनिक ज्यालामा निर्भर तथा न्यून आयभएका नागरिकका लागि राहतको उचित प्रबन्ध गर्न जरुरी देखिएको उल्लेख गर्दै सापकोटाले विषम परिस्थितिमा अग्रपंक्तिमा रहेर डटिरहेकास्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरुको उच्च प्रशंसा गरेका छन् ।
‘उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरण मार्फत् स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिहरुको मनोवल उच्च पारी परीक्षणको दायरा बढाउन आग्रह गर्छु’, अपिल–पत्रमा भनिएको छ– ‘यो महामारी निश्चय नै लामो समय रहने छैन । तर, यसलाई हाम्रो देशभित्रकति छिटो नियन्त्रण गर्ने भन्ने कुरा हामै्र सामूहिक प्रतिबद्धतामा निर्भर छ । त्यसैले, आत्मानुशासनकायम गरौं र यो महामारीलाई परास्त गरौं ।’
प्रतिक्रिया दिनुहोस्