असार २७, नदी कटानको उच्च जोखिममा परेको मेलम्ची खोला आसपासका बस्तीमा ग्याबिन जालीसहितको पक्की तारजाली लगाउने काम अहिले पनि धमाधम भइरहेको छ । चार हजार घरधुरीको बसोबास रहेको यसक्षेत्रकमा हिउदमा खतरामुक्त रहेपनि बर्खामा भने नदी कटानका कारण सधै जोखिममा हुने गरेको छ । गत वर्षको असारमा मेलम्ची खोलामा आएको बाढीले उर्वराभूमि जमिन र बस्ती कटान गर्दा स्थानीय पीडित बनेका छन् । स्थानिय घरखेत नै बाढीले बगाएपछि १३ महिनादेखि बास र गाासको समस्या झेल्दै आएका छन् । अहिले तटबन्ध निर्माणले उनीहरुलाई केही राहत महशुश भएको छ ।
तटबन्ध निर्माण भएका क्षेत्रका स्थानीय ढुक्क भएपनि तटबन्ध नभएका क्षेत्रका स्थानीय भने अझै त्रसित छन् । अबिरल बर्षा हुदा मेलम्ची भेगका स्थानीय अझै बाढीको जोखिम र कटानको चपेटामा छन् । आकासे पानी पर्न थालेपछि मेलम्ची नदीको सतह उर्लेर आउछ । हेलम्बुदेखि मेलम्ची क्षेत्रमा बाढीको जोखिम कायमै छ । अहिले बस्ती क्षेत्रको १२ स्थानमा तटबन्ध निर्माण भैरहेको मेलम्ची नगरपालिकाका मेयर आईतमान तामाङको भनाई छ । यस क्षेत्रका बासिन्दा यो वर्ष ढुक्कले निदाउन पाउने जनप्रतिनिधिको विश्वास छ ।
तर जब लगातार वर्षा सुरु हुन्छ र मनसुन सक्रिय हुन थालेको खबर आउँछ, तब हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिकाका बासिन्दाको मुहारमा अध्यारो छाउछ । हेलम्बुदेखि मेलम्चीसम्मको तटीय क्षेत्र खण्डहर बगर बनेको छ । जलाधार, भूसंरक्षण र प्रदेश सरकारबाट विनियोजित थोरै रकम ‘हात्तीको मुखमा जिरा’ झैँ भएको छ ।
बाढीको त्रासमा विस्थापित स्थानीय आज पनि रात परेपछि सुरक्षित ठाउँको खोजीमा भौँतारिनुपरेको छ । भेमाथाङभन्दा मुनि हेलम्बुसम्मै तटीय क्षेत्रको जमिन कटानमा परेर चिराचिरा परेको छ । मौसमजन्य गतिविधि बढ्नासाथ फेरि बाढी आउने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्