२०८१ मंसिर ७
                           

बलेफी २ का अध्यक्ष न्यौपानेद्धारा फर्जि कागतपत्र बनाएर अनियमितता

दिपक खत्री ÷ साउन ८ — बलेफी गाँउपालिका वडा नम्बर २ का अध्यक्ष छविलाल न्यौपानेले फर्जी कागजपत्र बनाएर अनियमितता गरेका छन् । अध्यक्ष न्यौपानेले बैधानिक सम्झौता भएको उपभोक्ता समितिलाई थाहा नै नदिएर पालिकाबाट योजनाको भुक्तानी लिएको पाईएको छ । झोलुङ्गे स्थित सिंचाई पाईप खरिद तथा जडान उपभोक्ता समितिले सम्झौता अनुसार भुक्तानी नपाएपछि रहस्य बाहिर आएको हो ।
२०७८ चैत्र ३० गते बलेफी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत देवीलाल सापकोटा र उपभोक्ता समिति अध्यक्ष नवराज कोइराला बिच सिंचाई आयोजनाको सम्झौता भएको थियो । समितिले सम्झौता अनुसार पाईप खरीद देखि इन्टेक बनाएर काम सम्पन्न ग¥यो ।
कार्य सम्पन्न भएको मुल्याङ्कन तथा अनुगमन समेत गराई समितिले असार २३ गते ५० हजार रकम भुक्तानीको लागि फाईल बलेफी गाउँपालिकामा पेश गरेको थियो । तर २ साता बित्दा समेत उपभोक्ता समितिको राष्ट्रिय वाणिज्य बैंकको खातामा बलेफी गाउँपालिकाबाट रकम भुक्तानी भएन । समितिका अध्यक्ष सहितको समुह यो विषयमा पालिकामा बुझ्न पुग्दा वडा अध्यक्ष छविलाल न्यौपानेले फर्जी कागज बनाएर वडाका कर्मचारीको नाममा चेक बनाएर पालिकाबाट भुक्तानी लिएको रहस्य बाहिर आयो ।
अध्यक्ष न्यौपानेले आयोजनाको काम गरेको फर्जी विल र डोर हाजिर गरेको कागज बनाएर काम नै नगरी जेठ मसान्तमा भुक्तानी लिएको देखिएको छ । उपभोक्ता समितिलाई थाहा नै नदिएर योजनाको पैसा गुपचुप लिएको भन्दै आवश्यक अनुसन्धान हुनुपर्ने सिंचाई पाईप खरिद तथा जडान झोलुङ्गे उपभोक्ता समिति अध्यक्ष नवराज कोइरालाले बताउनुभयो । नयाँ आर्थिक वर्ष सुरु हुँदापनि आफुहरुले अघिल्लो आर्थिक वर्षको सम्झौताको भुक्तानी पाउन नसकेको कोइरालाको भनाई छ ।
वडा अध्यक्ष न्यौपानेले भने झोलुङ्गे स्थित सिंचाई आयोजनाको काम गरेर नै भुक्तानी लिएको बताउनुभयो । सम्झौता विना काम गरेर भुक्तानी लिएकोमा आफ्नो कमजोरी रहेको अध्यक्ष न्यौपानेले स्वीकार्नु हुन्छ । तर अध्यक्षको मातहतबाट काम नै नभएको दावि उपभोत्ता समितिको छ ।

प्रतिक्रिया दिनुहोस्