काठमाडौँ, १० असोज । नागढुङ्गा क्षेत्रमा केही दिनदेखि भइरहको लामो ट्राफिक जामका कारण काठमाण्डू आइरहेका एकजना बिरामीको निधन भएको खबर आएपछि जाम कम गर्ने कदमहरू चालिएको अधिकारीहरूले बताएका छन् ।
उनीहरूका अनुसार जाम कम गर्न शुक्रवार बिहानैदेखि ठूलो सङ्ख्यामा ट्राफिक प्रहरी खटाइएको र बाटोमा बिग्रिएर बसेका सवारी साधनहरू पन्छाउने काम सुरु भएको छ ।
देशका विभिन्न क्षेत्रबाट राजधानी काठमाण्डू भित्रिने मुख्य नाका नागढुङ्गा क्षेत्रमा घण्टौँ जाममा बस्नु परेको भन्दै सर्वसाधारणहरूले चाहिँ सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिरहेका छन् । कतिपयले त्यस क्षेत्रमा ३० किलोमिटरसम्म ट्राफिक जाम भएको गुनासो गरेका छन् ।
मृत्युको खबर
काठमाण्डू आउदैँ गरेका रौतहटका ३५ वर्षीय रुपलाल साहको ट्राफिक जामकै कारण शुक्रवार बिहान मृत्यु भएको भन्दै विभिन्न सञ्चारमाध्यमले खबरहरू सार्वजनिक गरेका छन् ।
गाडीमा काठमाण्डू आउँदै गरेका उनको धादिङको महादेवबेंसीमा निधन भएको बताइएको छ । प्रहरीले भने उनको ट्राफिक जामका कारण निधन नभएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी नायव उपरिक्षक रुपक खड्काले भने, “उहाँको बिहान ४ बजेतिर निधन भएको हो, त्यसबेला जाम थिएन खासमा उहाँ पहिलेदेखि नै क्यान्सरको बिरामी हुनुहुन्थ्यो भन्ने कुरा आएको छ ।“ उनले जाम कम गर्नका लागि कदमहरू चालिइसकेकाले भोलिदेखि जाम नहुने दाबी गरे ।
के गर्दैछन् अधिकारीहरू ?
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि ट्राफिक जाम कम गर्न विभिन्न स्थानमा जारी सडक मर्मत कार्य बन्द गराइएको बताए ।
उनले यतायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यलाय काठमाण्डू र धादिङको सहकार्यमा मालवाहक सवारी साधनलाई निश्चित समयमा मात्र नागढुङ्गातर्फ जान पाउने व्यवस्था गरिएको जानकारी दिए ।
“हामीले राति ९ बजेपछि मात्र काठमाण्डूबाट नागढुङ्गातर्फ र यता धादिङबाट नागढुङ्गातर्फ मालवाहक सवारी साधनलाई जान पाउने व्यवस्था गरेका छौँ,“ उनले भने, “अहिले मालवहाक सवारी साधनहरू जोगिमारा र धार्के क्षेत्रमा नै रोकिएका छन ्।“
शुक्रवारदेखि उक्त नियम लागु गरिएकाले शनिवारदेखि जाम नहुने अधिकारीहरूको तर्क छ । नागढुङ्गामा वर्षैभरि जस्तो जाम हुने गर्छ। तर दशैँ तिहार जस्ता चार्डपर्व सुरु हुन लागेका बेला सबैभन्दा बढी जाम हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डूका प्रवक्ता रविकुमार पौडेल भन्छन, “नागढुङ्गामा अन्य बेलाको तुलनामा दशैँ अगाडि निकै जाम हुने गरेको छ तर हामी त्यसलाई व्यवस्थापन गर्न जुटिरहेका छौँ ।“
जामको कारणहरू
नागढुङ्गा क्षेत्रमा जाम हुने विभिन्न कारणहरू रहेको अधिकारीहरू र ट्राफिक प्रहरीहरू बताउँछन् ।
यस क्षेत्रमा वर्षौदेखि लामो जाम हुदैँ आएको छ । त्यसको समाधान ननिकालिएको भनेर सर्वसाधारणहरूले आलोचना गर्ने गर्छन् । तरकेही दिनदेखि जारी जाम भने अल्पकालीन भएको अधिकारीहरूको दाबी छ । उनीहरूका भनाइमा अरू बेला यस्तो जाम हुने गर्दैन ।
मर्मत
धादिङका सरकारी अधिकारीहरूका अनुसार दशैँअगावै सक्ने भन्दै विभिन्न स्थानमा सडकको मर्मत जारी राखिएकाले यसपटक जाम बढेको हो । प्रमुख जिल्ला अधिकारी तामाङले भने, “तर अहिले हामीले यस्तो मर्मत बन्द गराइसकेका छौँ ।
अहिले कतै पनि मर्मत जारी छैन ।“ उनका अनुसार केही दिन अघि विभिन्न स्थानमा खाल्टाखुल्टी टाल्न पनि सुरु गरिएको थियो । सडकमा मर्मत गर्दा दुईलेनको बाटो एक लेनमा सीमित भयो। त्यसले गर्दा जाम भएको अधिकारीहरू बताउँछन् ।
मालवाहक सवारी साधन
नागढुङ्गा क्षेत्रमा जाम हुने अर्को कारण मालवाहक सवारी साधनको चाप पनि भएको अधिकारीहरूले बताए । ट्राफिक प्रवक्ता पौडेलका अनुसार पानी परिरहेकाले नागढुङ्गा क्षेत्रको उकालो र घुमाउरो बाटो निकै चिप्लो छ ।
उनले भने, “गह्रुङ्गो भारी बोकेर आएका मालवाहक सवारी साधन चिप्लो र उकालो बाटोमा अघि बढ्नै सक्दैनन् । त्यसैले गर्दा कतिपय गाडी बाटोमै अड्किन्छन् । तीनलाई तान्नका लागि हामीले केही मेसिनहरू नै राखेका छौँ ।“
उनका अनुसार केही दिन यता केही यस्ता सवारी साधन बाटोमै बिग्रिएर बसेकाले जाम थप बढेको हो । तर, ती सबैलाई तानेर निकालिएको उनले दाबी गरे। यही समस्या कम गर्न अब राति ९ बजेपछि मात्र यस्ता सवारी साधनलाई आवतजावत गर्न अनुमति दिने निर्णय गरिएको उनले बताए ।
बढ्दो सवारीको चाप
नागढुङ्गामा दशैँ अगाडि जाम हुनुको अर्को कारण काठमाण्डूबाट बाहिरिने मानिसहरूको सङ्ख्या बढ्नु पनि रहेको अधिकारीहरूले बताए । उनीहरूका अनुसार अहिले हरेक दिन करिब एक लाख जना जति मानिसहरू नागढुङ्गा हुँदै बाहिरिने गरेका छन् ।
अन्य बेलामा भने दैनिक करिब ६० हजार जना जति मानिसहरू मात्र उपत्यकाबाट यो नाका हुँदै बाहिरिने गरेको ट्राफिक प्रवक्ता पौडेल बताउँछन् । उनी भन्छन, “यसरी बाहिर जानेहरूले आफ्ना निजी सवारी साधनहरू पनि साथैमा लिएर जान्छन् । त्यसले गर्दा जाम बढाउन भूमिका खेलेको छ ।“ बीवीसी
प्रतिक्रिया दिनुहोस्